चाड आयो, खसीबोका ओसारपसार मौलायो
भारतीय खसीबोका आयातमा कडाइसँगै कपिलवस्तुमा यसको अवैध ओसारपसार बढेको छ । नजिकिँदो चाडबाड तथा नेपालमा खसीको माग बढेसँगै जिल्लाको पश्चिमी क्षेत्रबाट अवैध तस्करी मौलाएको हो ।
कृष्णनगर भन्सार कार्यालयले गत शुक्रबार भारतबाट नेपाल ल्याइँदै गरेका ८१ वटा खसीबोका पक्राउ गर्नुले पनि यस कुरालाई पुष्टि गर्छ । मुलुकलाई मासुमा आत्मनिर्भर बनाउने र किसानलाई बजारीकरणमा सहज बनाउने उद्देश्यले भारत तथा अन्य मुलुकबाट खसी आयातमा कडाइ गरिए पनि अवैध बाटो यसको ओसारपसार रोकिएको छैन ।
यसरी हुन्छ तस्करी :
मागबमोजिमका खसीबोका भारतीय व्यापारीले सीमासम्म ल्याइपु¥याउँछन् । त्यस कामको जिम्मा उताका तस्कर तथा व्यापारी नबिरुल्लाह र अमिरुल्लाह मुसलमानले लिन्छन् । भारतीय एसएसबीको मौन सहमतिमा उनीहरूले सीमानाको अर्ररा नदी तारेर खसीबोका नेपाली तस्करलाई बुझाउँछन् ।
यताकाले त्यसलाई डालपुर, जबाबैराठ, कठुवाबाट भित्र्याएर संकलन गरी सुन्दरीडाँडासम्म ल्याई पु¥याउँछन् । यस क्रममा सशस्त्र प्रहरी डालपुर बेश र सुन्दरीडाँडा प्रहरीको मौन सहमति र सुन्दरीडाँडाका घुमुवा प्रहरी मनोज परियारले अवस्था हेरी खसीबोका भएका पिकअप भ्यानलाई राति एस्कर्टिङ गरी हल्लानगर सुरई पुलसम्म पु¥याउँछन् ।
त्यसपछि ती खसीबोकालाई शिवपुरको एक कृषि फर्ममा राखिन्छ । सुरक्षा स्रोतका अनुसार यस कार्यका लागि प्युठानबाट खसीबोका कारोबार गर्न चन्द्रौटा बस्दै आएका राजकुमार श्रेष्ठ र गोपाल गौतमले सेटिङ मिलाउँछन् ।
उनीहरूले मंगलबार चन्द्रौटामा लाग्ने हाटबजारबाट भारतीय खसीको नेपाली नागरिकता बनाउँछन् अर्थात् खसीबोका खरिद बिक्रीको पशु हाट बिल तयार हुन्छ । स्थानीय रजाउँ खानले खसीबोका खरिद–बिक्रीको हाट बिल बनाएर पठाउँछन् ।
कारोबारी श्रेष्ठ र गौतमले दर्ता गरी राखिएका ६ वटा कृषि फर्मबाट काठमाडौँका व्यापारीको नाममा गोटा र तौलअनुसारको बिल काट्छन् । सेटिङका भेटिनरी डाक्टरको सहीछाप हानेर स्वस्थकरको प्रमाणपत्र बनाउँछन् र अनलाइन बिल काटेर काठमाडाैँ पठाउँछन् ।
त्यसपछि स्थानीय सेटिङ मिलाउने काम सशस्त्र प्रहरी प्रदेश मुख्यालयका सशस्त्र प्रहरी सहायक निरीक्षक नीलकण्ठ भण्डारी तथा वडा प्रहरी कार्यालयका घुमुवा प्रहरी हवल्दार राजेन्द्र केसीले गर्छन् । उनीहरूकै सेटिङका कारण सीमादेखि नागढुंगासम्म निर्वाध रूपमा खसीबोका जान्छन् । सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीलाई लाइन मिलाउने काम पनि असई भण्डारी र हवल्दार केसीले गर्ने गरेको स्रोतको भनाइ छ ।
खसीबोका तस्करीमा हाइप्रोफाइलहरूको समेत लगानी र सपोर्ट भएकै कारण कसैले पक्राउ नगरेको जिल्लाबासी बताउँछन् । दिनहुँ ५–६ पिकअप खसीबोका आउँदा, प्रहरीले के हेरेर बस्छन्, किसानको १ बोरा मलखाद छोप्ने, गाडीका गाडी खसीबोका उम्कने कस्तो नियमन हो यो ? उनले प्रश्न गरे ।
टिप्पणीहरू