बर्मेली नेपाली स्वरसम्राट अब रहेनन्

बर्मेली नेपाली स्वरसम्राट अब रहेनन्

बर्माका चर्चित नेपाली गायक पदम थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ७६ वर्षीय गायक थापाको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उच्च रक्तचापका कारण उनलाई एक महिनाअघि माण्डलेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । लगतै कलाैंस्थित गृहनगर फर्किएका गायक थापाकाे आफ्नै घरमा निधन भएको बर्मेली नेपाली वरिष्ठ साहित्यकार लक्ष्मण न्याैपानेले जानकारी दिएका छन् ।

‘बिगत २५ दिनदेखि रक्तचाप रोगको उपचार गर्दागर्दै अन्तिममा कलौँ नगर अउंबान उपशाखास्थित आफ्नै गृहमा ७६ वर्षकाे उमेर पुगेका हाम्रा प्रिय दाइले आज बिहान ६ बजे देहत्याग गर्नुभयो । पदम दाइको पार्थिव शरीरलाई आजै मध्यान्न्ह २ बजे वैदिक परम्परा अनुकुल आउंबान हिन्दू घाटमा अन्तिम संस्कार गरिने,’ बर्माका वरिष्ठ साहित्यकार न्याैपानेले भने ।

बर्मा नागरिक थापाले एक सयभन्दा धेरै नेपाली गीत बजारमा ल्याएका छन् । ‘वर्षाको झरी जस्तो’, ‘मेरो आँसु किन बगीरहन्छ’ जस्ता कैयाैँ कालजयी गीत रचना र गायन गरेका स्व. थापा बर्माकाे नेपाली गीतिक्षेत्रका स्वरसम्राटका रूपमा चिनिन्छन् । उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेको जानकारहरू बताउँछन् ।

टिप्पणीहरू