सिंगापुरमा बाँदरद्वारा अपार्टमेण्ट घेराउ, जापानमा धमाधम मारिँदै
जापानमा मानिसमाथि आक्रमण गर्ने बाँदरलाई मार्ने अभियान नै थालिएको छ । पश्चिमी जापानस्थित यामागुची शहरका अधिकारीहरुले यो साता एउटा बाँदर मारेका छन् । नगरपालिकाहरुले हरेक वर्ष २५ हजार बाँदर मार्ने गरेको तथ्याङ्क बाहिर आएको छ । मानिस र बाँदरबीचको द्वन्द्वले जापानमा उग्र रुप लिएकाले बाँदरलाई छानीछानी मार्न थालिएको हो ।
यामागुचीमा मात्रै यो महिना बाँदरको आक्रमणबाट ५६ जना घाइते भएका छन् । शिशु कक्षामा पढ्ने ४ वर्षीया बालिकासमेत आक्रमणमा परेकी छन् । पछिल्लो समय जापानमा बाँदरको संख्या ह्वात्तै बढेको छ । बाँदरको संख्या बढ्नुको प्रमुख कारण संरक्षण प्रयासहरुले सफलता पाउनु भएको बताइन्छ ।
तर, बाँदर संरक्षणलाई प्राथमिकता दिनु जापानलाई नै ठूलो घाँडो बनेको एकथरिको भनाइ छ । बाँदरहरु मानव बस्ती नजिकै बस्ने भएकाले हेपाटाइटिस बी वा अन्य रोग फैलिने जोखिम बढेको विज्ञ हिरोतो एनारीको भनाइ छ ।
एशियाका अन्य मुलुकमा पनि बाँदरको आतंक उस्तै छ । थाइल्याण्डको लोपबुरी शहरमा वर्षौंदेखि गँगटा खाने बाँदरहरुको दादागिरी देखिन्छ छ । उता, सिंगापुरमा हालसालै बाँदरहरुले एउटा अपार्टमेन्ट नै घेरेका थिए । आक्रमणकारी बाँदरबाट अपार्टमेण्ट जोगाउन सुरक्षाकर्मीको व्यापक परिचालन गर्नुपरेको बताइन्छ ।
टिप्पणीहरू