सबै श्रेणीहरू

यता नेपालकी साइँली, उता चीनकी सान्ली

यता नेपालकी साइँली, उता चीनकी सान्ली

२०औँ शताब्दीको शुरुदेखि नै तिब्बत निकै गहिरो सामाजिक उथलपुथलबाट गुज्रिरहेको थियो । सोही क्रममा ल्हासामा जन्मेकी एक बुद्धिमानी र रूपमती नेपाली चेलीको जीवनमा एक चिनियाँ मौसमविद् भेटिएपछि नसोचेको परिवर्तन आयो । उनको सोही कथाले तिब्बतको आधुनिक इतिहाससँग गहिरो सम्बन्ध बनाएको छ । उनी हुन् चीनकी सान्ली अर्थात् नेपालकी साइँली छोरी ।

ब्राह्मण परिवारकी साइँली छोरी, उताकी बुहारी

सान्ली नेपाली ब्राह्मण परिवारमा जन्मेकी थिइन् । बुबा ल्हासास्थित तत्कालीन नेपाली वाणिज्य दूतावासमा कर अधिकारीका रूपमा कार्यरत थिए । परिवारकी तेस्री छोरी भएकाले घरमा नेपालीमा साइँली र चिनियाँमा ‘सान्ली’ नै भनेर बोलाइन्थ्यो । सान् अर्थात् तेस्री र लि अर्थात् छोरी । त्यसबेला ल्हासाको राम्रो विद्यालयमा अध्ययन गरेकी उनले नेपाली भाषासँगै तिब्बती भाषामा निकै दखल राखेकी थिइन् ।

ल्हासामा नयाँ मोड

सन् १९४० मा चीनको केन्द्रीय विश्वविद्यालयबाट मौसम विज्ञानमा स्नातक गरेका छिङहाईका छाओ स्यु ल्हासा मौसम केन्द्रमा खटिए । सोही क्रममा सान्ली र छाओबीच भेट भयो । दुई फरक देश र संस्कृतिका दुई हृदय अन्ततः प्रेममा बदलिए । शुरुमा सान्लीका परिवारले साँस्कृतिक भिन्नताका कारण आनाकानी गरे पनि छाओ स्युले तिब्बती भाषा र नेपाली संस्कृतिमा चाख राखेको देखेपछि परिवारको मन जितेका थिए । विवाहपछि उनले श्रीमतीलाई ‘साइँली’कै उच्चारण मिल्दोजुल्दो सान्ली नाम राखिदिए ।

हतारको पलायन र वैज्ञानिक प्रतिबद्धता

जुलाई १९४९ मा स्थानीय तिब्बती प्रशासनले चीन सरकारको मातहतका निकायलाई ल्हासाबाट हटायो । छाओ स्यु, सान्लीसहित मौसम केन्द्रका सबै कर्मचारीलाई परिवारसहित ल्हासा छाड्न भनियो ।

त्यस्तो अवस्थामा उनीहरू भारतको गान्तोक हुँदै कलकत्ता पुगे । छाओ स्युले १५ वर्षको अमूल्य मौसमीय तथ्याङ्क जोगाउन आफ्नै घरका मूल्यवान् सामान, सान्लीको केही दाइजोसहित शहर छाडेका थिए । तत्कालीन भारत सरकारले ती तथ्यांक किन्न उच्च मूल्य प्रस्ताव गर्दै भारतीय नागरिकताकोसमेत प्रस्ताव गरे पनि छाओ स्युले जवाफ दिए, ‘मेरो घर चीन हो, मेरी आमा त्यहीँ हुनुहुन्छ । म कुनै हालतमा फर्किनै पर्छ ।’

सान्लीको निर्णायक कदम

भारतबाट चोङछिङ फर्केपछि सान्लीले थाहा पाइन्– जनमुक्ति सेनाको १८औँ डफ्फा ल्हासा पस्ने तयारीमा छ । तिब्बती सर्वसाधारणलाई सामन्ती उत्पीडनबाट मुक्त गर्न लागेको उक्त ऐतिहासिक अभियानले उनलाई भित्री हृदयदेखि छोयो । सैनिक भर्ती कार्यालयमा सुनिन्, ‘विश्वका मजदुर जात, मुलुक वा भाषा जेसुकै भए पनि ती एकै परिवारका हुन् ।’

यही वाक्यबाट प्रेरित भएर सान्ली जनमुक्ति सेनामा भर्ती भइन् । त्यसपछि छाओ स्युसँगै तिब्बत मुक्ति अभियानमा सक्रिय हुन थालिन् । तिब्बती भाषा र संस्कृतिको गहिरो ज्ञान भएकी सान्लीलाई १८औँ सेनाका कमाण्डर चाङ गुओहुआ र राजनीतिक कमिसार तान ग्वान्सानका ‘टोंग्सी’ (अनुवादक) को जिम्मेवारी दिइयो । काम अनुवाद गर्नु मात्र थिएन, उनी तिब्बती जनसमुदाय, कुलीन वर्ग र सेनाबीच भाषाको कारण निर्णायक पुलसमेत बनिन् । तिब्बत प्रवेशको कठिन यात्रामा हजारौँ किलोमिटर, चार हजार ५०० मीटरभन्दा अग्ला दशौँ हिमाल, नदी, हिमनदी, घना जंगल र दलदल मैदान हिँडेरै पार गरिन् । 

२६ अक्टोबर १९५१ मा पिएलएको १८औँ डफ्फा ल्हासा प्रवेश ग¥यो । लामो संघर्षपछि पवित्र भूमिमा पुनःउभिँदा सान्लीले सबै कष्ट र त्याग सार्थक भएको अनुभव सुनाएकी थिइन् ।

नागरिकता छनोटको अवसर

सन् १९५५ मा चीन–नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि सहमतिअनुसार चीनमा रहेका नेपालीलाई नागरिकता छनोटको अवसर दिइयो । दिदीबहिनी र परिवारजन सबै नेपाल फर्किए तर सान्लीले भने उतैको नागरिकता रोजिन् । 

त्यसपछि तिब्बत स्वायत्त प्रदेश सार्वजनिक सुरक्षा विभागको सामाजिक मामिला शाखामा खटिइन् । सन् १९५६ मा केन्द्रीय राष्ट्रियता विश्वविद्यालयको ‘तिब्बत क्याडर प्रशिक्षण कक्षा’ की पहिलो विद्यार्थी भइन् । १९५९ को तिब्बती उपद्रोका बेला केही भिक्षु र कुलीन वर्ग हिंसात्मक गतिविधिमा उत्रिएका थिए । ल्हासाको सेरा गुम्बा केन्द्रबिन्दु बनेपछि सान्लीलाई तत्काल बेइजिङ आउन भनियो । 

सन् १९८६ मा अवकाश पाएपछि सान्ली माइती परिवारसँग पुनर्मिलनका लागि नेपाल आइन् । तर तिब्बतप्रतिको माया कहिल्यै कम भएन । उनका चार सयभन्दा बढी नेपाली नातेदारले अझै पनि चीनप्रति गहिरो मित्रता राख्नुको मुख्य कारण यही नै हो । धेरै समय यता बस्ने गरेकी उनी प्रत्येक वर्षको गर्मी याममा परिवारलाई लिएर ल्हासा जान्थिन् । 

सान्लीको यात्रा र कथा व्यक्तिगत होइन । यो तिब्बतको राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणसँग गाँसिएको एउटा ऐतिहासिक अन्तर्राष्ट्रिय प्रमाण हो । एक नेपाली अभिजात परिवारकी कोमल किशोरीदेखि सैनिक, अनुवादक र समाजसेवीसम्मको जीवन यात्रा साँच्चि नै सीमा, संस्कृतिभन्दा परको अद्भूत कथा हो । उनको योगदान आज पनि ल्हासादेखि काठमाडौंसम्म स्नेह र इतिहासका पानामा अंकित छ । यथार्थ भन्ने हो भने उनी आधुनिक समयकी ‘भृकुटी’ हुन् ।