एसइइबारे संसदमा कुरो उठ्यो, सांसदद्वारा छानबिनको माग

एसइइबारे संसदमा कुरो उठ्यो, सांसदद्वारा छानबिनको माग

यस पटकको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा कमजोर आएपछि सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । आज राष्ट्रिय सभा बैठकमा नेपाली काँग्रेस सांसद प्रकाश पन्थले एसइइको नतिजाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

सांसद पन्थले राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको नतिजामा छानबिन गर्नुपर्ने बताएका छन् । परीक्षा बोर्डको नतिजामा ४ जीपीए ल्याउने थोरै भएको उल्लेख गर्दै उनले भने, ‘एसइइ परीक्षामा विद्यालयले मूल्याङ्कन गर्दा ४ जीपीए ल्याउने नौ हजारभन्दा बढी थिए । तर, परीक्षा बोर्डले मूल्याङ्न गर्दा ४२ जनाले मात्रै चार जीपीए ल्याएका छन् । यसमा बोर्डको नतिजा ठीक कि विद्यालयको भन्ने प्रश्न उठेकाले छानबिन हुनपर्छ ।’

यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले मात्र ४ जीपीए ल्याएका छन् । अघिल्लो वर्षको तुलनामा उक्त नतिजा कमजोर हो । राम्रो जीपीए ल्याउनेलाई उच्च शिक्षाको अवसर मिल्ने भन्दै सांसद पन्थले कमजोर जीपीए ल्याएका विद्यार्थीका लागि सिपमूलक तालिम दिन सरकारको ध्यानकर्षण गराएका छन् ।

उनले भने, ‘राम्रो जिपिए र ग्रेड ल्याउनेहरुलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ । तर कमजोर ग्रेडमा उतीर्ण हुने लाखौँको लागि सरकारसँग के छ ? बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सिप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

टिप्पणीहरू