कार्यकर्ता भेट्न गएका ‘बा’ को ब्याडमिन्टनमा ब्यायाम

कार्यकर्ता भेट्न गएका ‘बा’ को ब्याडमिन्टनमा ब्यायाम

राजनीतिक कार्यक्रमका लागि हिजो गृहजिल्ला झापा पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्याडमिन्टन खेल्न थाल्नुभएको छ । कहिले स्नुकर,कहिले टेबल टेनिस र क्यारेम बोर्डमा रमाउने उहाँले बिर्तामोड पुगेर आज स्थानीय खेलाडीहरूसँग झन्डै एक घण्टा ब्याडमिन्टन खेल्नुभएको हो ।

ओलीले ब्याडमिन्टन खेल्दै गरेको फोटो आज बिहानै उहाँको सचिवालयले सार्वजनिक गरेको छ । उहाँ निकै फूर्तिका साथ ब्याडमिन्टन कोर्टमा सक्रिय रहेको उक्त फोटोमा देख्न सकिन्छ ।

एमाले नेताहरुका अनुसार ओलीले जेलमा बस्दा नै ब्याडमिन्टन सिक्नुभएको हो । शारीरिक व्यायामका लागि बेला-बेला ब्याडमिन्टन खेलिरहने उहाँ गृहजिल्ला झरेर लामो समयपछि फेरि कोर्टमा फर्किनुभएको बताइन्छ ।

जिल्ला पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा भाग लिन उहाँ तीन दिनका लागि हिजो झापा झर्नुभएको हो । त्यहाँ रहँदा ओलीले आगामी निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू