गौशालामा समातिएका विप्लवका कार्यकर्ता

गौशालामा समातिएका विप्लवका कार्यकर्ता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई विमानस्थलबाट होटलतर्फ जाने क्रममा कालोझण्डा देखाएको भन्दै पक्राउ परेकाहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको खुलेको छ । सो पार्टीका नेता चिरन पुनले अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिकसहित एक दर्जनभन्दा बढी गौशालाबाट समातिएको बताए ।

आज अपराह्न काठमाडौँ आइपुगेका लु विमानस्थलबाट बौद्धस्थित होटल हायाततर्फ जाने क्रममा पशुपति नजिकैको गौशालामा केही युवाले कालो झण्डासहित एमसीसी बहिष्कार लेखिएको प्लेकार्ड देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा प्रहरीले एक महिला र आठ जना पुरुषलाई नियन्त्रणमा लिएको थियो ।विप्लव समूहका नेता पुनले एसपीपीको विरोधमा कालो झण्डा देखाउँदा प्रहरीले दमन गरेको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

‘एसपीपी पारित गराउन दबाब दिने उद्धेश्यसहित दक्षिण एसियाली तथा मध्य हेर्ने अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लु आज नेपाल आउने सन्दर्भमा कालो झण्डासहित बिरोध प्रदर्शनको दौरान अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष कमरेड प्रकाश शाही, महासचिव कमरेड ललित बिक सहित एक दर्जनभन्दा धेरैलाई दलाल सरकारको निर्देशनमा प्रहरीले गौशालाबाट गिरफ्तार गरेको छ भने डोनाल्ड लुलाई कालोझण्डा देखाइएको छ’, पुनले भने, प्रदर्शनकारीमाथि दमन गर्ने राज्यको यसप्रकार कार्यको घोर बिरोध गर्दै, तत्काल गिरफ्तार साथीहरुलाई रिहा गर्न जोडदार माग गर्दछु ।’

सहायक मन्त्री लुको तीन सदस्यीय टोली आज दिउँसो साढे ४ बजे भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ बाट काठमाडौँ आइपुगेको हो ।

टिप्पणीहरू