बाबुरामको समाजवादी दर्ता, आँखा पनि उनैलाई
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) बाट निकालिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
माओवादी छाडेर नयाँ शक्ति हुँदै मधेस केन्द्रित दल जसपामा पुगेका भटराईले उपेन्द्र यादवले कारवाही गरेर निकालेपछि नयाँ पार्टी दर्ता गरेका हुन् । २०७४ को निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा आज दर्ता भएको जानकारी दिएका हुन् । यसअघि जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला भटराईले पत्नी हिसिला यमीमार्फत ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराएर आँखा चिन्ह सुरक्षित राखेका थिए ।
२ वर्षसम्म उक्त चिह्न अर्को पार्टीले नपाउने कानुनी व्यवस्था भएका कारण पुरानो पार्टीको नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ अद्यावधिक गरि आयोगले आँखा चिन्ह दिएको हो ।
टिप्पणीहरू