जनमैत्री बनेन राजधानीका सडक

जनमैत्री बनेन राजधानीका सडक

राजधानीका अधिकांश सडक मानवमैत्री छैनन् । सर्वसाधारणको सहजतालाई ध्यानमा राखेर भौतिक पूर्वाधारहरु निर्माण भएको पाइदैन् । सडक जनमैत्री नहुँदा पैदलयात्रीले निकै सास्ती खेप्नुपरेको छ । न ठाँउठाँउमा आकाशे पुल छ न जेब्राक्रसिङ । सवारी धनीका निम्ति मात्र बनाएको बाटो हो कि भन्ने महशुस पैदलयात्रीलाई हुने गरेको छ ।

पछिल्लो समय निर्माण भएका भौतिक पूर्वाधारहरु पैदलयात्रीका लागि जोखिमपूर्ण साबित भएको छ । त्योमध्ये एक हो, कंलकी सडकखण्ड । उक्त सडकखण्डमा चनाखो भएर हिड्दा पनि दुर्घटनामा पर्ने सम्झावना निकै बढी छ । सर्वसाधारणलाई कंलकीबाट गाडी चढ्नका निम्ति खसीबजार पुग्नुपर्ने बाध्यता छ ।

यता, बसस्टप नहुँदा सहचालकले बिच बाटोमै गाडी रोकेर यात्रु ओराल्ने र चढाउने गरेका छन् । विडम्बना, बाटो जति ठूलो बनाएपनि सरकारले उक्त क्षेत्रमा यात्रुको सुरक्षाका लागि बसस्टपसमेत निर्माण गर्न सकेको छैन् । चीन सरकारको अनुदानमा बनेको उक्त सडकखण्ड नागरिकमैत्री नभएको पैदलयात्रीहरुको ठम्याई छ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ ले आम नागरिकको सुरक्षालाई खासै ध्यान दिएको पाइदैन् ।

कोटेश्वर–बल्खु–कंलकी चक्रपथ सुधार आयोजनाअन्तर्गत निर्माण भएको सडकखण्डमा सामान्य जेब्राक्रससमेत छैन् । जथाभावी बिच सडकबाट ओहोरदोहोर गरिरहेको भेटिन्छन्, पैदलयात्री । सार्वजनिक यातायातले जहाँ मनलाग्यो त्यही गाडी तेस्र्याएर ट्राफिक जाम गर्दा पनि ट्राफिक प्रहरी कारबाही गर्दैनन् ।

साथै, डिभाइडर नाघेरे बाटो काट्ने क्रम बढेको छ । भौतिक पूर्वाधारको अभाव र जहाँपायो त्यहीबाट बाटो काट्ने बानीका कारण दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउछन् ।

सडक प्रयोगकर्ताहरु आफ्नो ज्यानको सुरक्षाको ख्याल नगरी डिभाइडरबाट हाम्फालेर बाटो काटिरहेका भेटिन्छन् । सडकको संरचना ह्वीलचेयरमैत्री र नागरिकमैत्री नबन्दा धेरै हैरानी खेप्नुपरेको एक जना पैदलयात्रीले बताए । आकाशे पुल नहुँदा सडक काट्न असहज भएको उनको भनाइ छ ।

अपाङ्गमैत्री बनेन् सडक

कंलकीको उक्त सडक वारपार गर्न शारीरिक अवस्था ठिक भएकालाई त धौं छ भने अपाङ्गता भएकाहरुको हाल बेहाल छ । भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ को परिच्छेद–२ को खण्ड (क) मा सबै सार्वजनिक सडक अपाङ्गता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुँचयुक्त बनाउनुपर्ने भनिएको छ ।

त्यसैगरी, खण्ड (ख) मा नयाँ बन्ने सम्पूर्ण सडकहरु ह्वीलचेयर, वैशाखी, कृत्रिम अंग प्रयोगकर्ता, दृष्टिविहिन, होचा पुड्कालगायतका अपाङ्गता भएका व्यक्तिको आवागमनको लागि पूर्णतया पहुँचयुक्त बनाउनुपर्ने र पूराना सडकहरुमा विद्यमान रहेका अपाङ्गता भएका व्यक्तिको आवागमनमा अवरोध पुर्याउने सबै किसिमका अप्ठ्याराहरु हटाउनुपर्ने उल्लेख छ ।

तर, निर्देशिकामा उल्लेख भएका विषय कार्यान्वयनमा गएको पाइदैन् । हालैसालै निर्माण सकिएको सडकखण्डमा समेत सरकारले बनाएको निर्देशिकाको पालना भएको छैन् । जसले गर्दा शारीरिक अशक्त भएका व्यक्तिहरु मर्कामा परेका छन् । अपाङ्गतामैत्री सडक नहुँदा हिँड्डुल गर्न पनि समस्या भएको उनीहरु दुःखेसो पोख्छन् ।

अव्यवस्थित सडक संरचना बुझ्न नसक्दा ग्रामीण भेगबाट भर्खर राजधानी भित्रिएकाहरु अलमल्ल पर्छन् । बाटो कताबाट काट्ने र कताबाट गाडी चढ्ने भनेर छुट्याउनै मुश्किल पर्ने गरेको छ । मुलुकमा पछिल्लो समय धमाधम विकास गतिविधिहरु भइरहेका छन् ।

सरकारले विकासका गतिविधिलाई प्राथमिकता दिएपनि सर्वसाधारणको सुरक्षालाई ध्यान दिइएको पाइदैन् । जुनै पनि पूर्वाधार निर्माणमा सम्बन्धित निकाय एकदमै संवेदनशील हुनुपर्छ । सडक र यात्रा सुरक्षित बनाउनु सरकारको जिम्मेवारी भएपनि कहीकतै चुकेको अहिलेको अवस्थाले स्पष्ट हुन्छ ।

टिप्पणीहरू