बास बस्ने ठाउँ नगई सोझै अर्को होटेल किन गए पाहुना ?

बास बस्ने ठाउँ नगई सोझै अर्को होटेल किन गए पाहुना ?

‘भुइँचालो आए झैँ’ नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु त्यसैगरी हतार हतार यौटा कार्यक्रममा सहभागी भएका छन् । उनी विमानस्थलबाट उत्रिएलगत्तै आफू बस्ने होटल नगई यहाँस्थित अमेरिकी दूतावाससहितले आयोजना गरेको कार्यक्रममा भाग लिन बौद्धस्थित हायात होटल पुगेका हुन् ।

सात महिनाको अन्तरालमा दोस्रो पटक नेपाल आएका लु तीन सदस्यीय टोलीको नेतृत्व गर्दै अपराह्न साढे चार बजे भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ मा दिल्लीबाट काठमाडौँ उत्रिएका थिए । तर, उनी बास बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकाज नगई दूतावासले आयोजना गरेको लगानीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउन सिधै हायाततर्फ लागे । ४:५० मा हायात छिरेका उनी ५:२० मा त्यहाँबाट निस्केका थिए ।

एअरपोर्टबाट सिधै हायात जानु र आधा घन्टामै त्यहाँबाट निस्कनुले भ्रमण योजनावद्ध नभई आकस्मिक व्यवस्थापनका लागि भएको आशंका गरिएको छ । एमसीसी अनुमोदन गराउन नेपाल सरकार र राजनीतिक दलका शीर्ष नेतालाई दबाब दिएको भन्दै अघिल्लो भ्रमण चर्को आलोचनामा परेपछि यसपटक सुविचारित ढंगले औपचारिक कार्यक्रममा सहभागी हुन आएको देखाउन एअरपोर्टबाट झर्नेबित्तिक्कै लु नेतृत्वको ३ सदस्यीय अमेरिकी टोली हायात पुगेको बताइन्छ ।

त्यसो त अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आफ्ना अधिकारीहरुको भ्रमण बाक्लिएको भन्दै आइरहेको छ । तर,उक्त भनाइ किन पनि पुष्टि हुँदैन भने नेपाल आएका अमेरिकीहरुले त्यसअनुसार यहाँका पदाधिकारीसँग औपचारिक छलफल र कुराकानी गरेका छैनन् ।

गत जेठमा नेपाल भ्रमणमा आएकी मानवअधिकारसम्बन्धी उप विदेश मन्त्री उज्रा जिया त काठमाडौँमा रहेका तिब्बती शरणार्थी शिविर घुमेरमात्रै फर्किएकी थिइन् ।

मन्त्रिपरिषदले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको अवस्थामा लुको नेपाल आगमनलाई लिएर अनेक आशंका भैरहेका बेला यहाँस्थित दूतावासले नियमित भ्रमण भन्दै आश्वस्त पार्न खोजेको छ । त्यसलाई पुष्टि गर्न केही सहयोग र परियोजनाको घोषणासमेत हुनसक्ने बताइन्छ । उनको साथमा भारतीय मूलकी सुक्मित अन्जली कौर,जो अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोगको एसिया ब्यूरो सहायक उपप्रमुख पनि आएकी छन् । यसर्थ पनि यसचोटी बिकाससम्बन्धी केही सहयोग परियोजनाको थप घोषणा हुनसक्ने देखिन्छ ।

टिप्पणीहरू