अमेरिकी सहायक विदेशमन्त्री आएलगत्तै चारथरि कम्युनिष्टको आन्दोलन चर्कियो
एमसीसी,एसपीपी र आइपीएसको विरोध गर्दै आएका चार कम्युनिष्ट पार्टीले आन्दोलनको अभियान जिल्ला तहसम्मै पुर्याएका छन् । उनीहरूले नागरिकता विधेयकमा रहेका राष्ट्रघाती प्रावधानसमेत खारेज हुनुपर्ने माग गर्दैै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
कम्युनिष्ट पार्टी र वाम बुद्धिजीवीहरूको संयुक्त मोर्चाले आज बिहान ११ बजेदेखि मूल्यवृद्धि, भ्रष्टाचार,कालोबजारी नियन्त्रण तथा राजनीतिक बन्दी रिहाइको लागि हस्ताक्षर संकलन कार्यक्रम राखेका छन् ।
पर्सि आइतबार मसाल जुलुस गर्ने र साउन २० गते मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र र संकलित हस्ताक्षर बुझाउने कार्यक्रम रहेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाको अध्यक्षमा विप्लव समूह मकवानपुर जिल्ला सेक्रेटरी राम घलान ‘वाटर’ लाई राखिएको छ । वैज्ञानिक समाजवादी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य यदु पासा, नेकपाका जिल्ला संयोजक माननाथ तिमल्सिना, नेकपा मालेका जिल्ला उपाध्यक्ष हरिकृष्ण अधिकारीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला संयोजक ओबेन्द्र बहादुर लुइँटेल, नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य दीपेन्द्र श्रेष्ठ, सचेत नेपालीका जिल्ला प्रवक्ता मुक्तिनाथ पुडासैनी, नागरिक सरोकार समितिका जिल्ला संयोजक केशव गौतम र स्वतन्त्र बुद्धिजीवी मान बहादुर लामाको हस्ताक्षर छ ।

टिप्पणीहरू