राजावादीद्वारा मालीगाउँमा तनाव, सडक अवरुद्ध

राजावादीद्वारा मालीगाउँमा तनाव, सडक अवरुद्ध

राजधानीको मालीगाउँमा एउटा समूहले प्रहरी हिरासतमा रहेका युवकको रिहाइको माग गरेपछि स्थानीय प्रहरी वृत्तमा तनाव भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध बोलेपछि पक्राउ परेका एक युवकको रिहाइको माग गर्दै आज मालिगाउँमा विरोध कार्यक्रम भएको हो ।

पक्राउ परेका युवक अर्जुन पौडेलको रिहाइको माग गर्दै केही बेर अघिदेखि मालिगाउँ प्रहरी वृत्त बाहिर विरोध कार्यक्रम शुरु भएको हो । पौडेलको रिहाइको माग गर्दै वीर गोर्खाली अभियानका प्रमुख अभियन्ता सन्तोष राजावादीको नेतृत्वमा कार्यक्रम भइरहेको छ ।

तीन दर्जनको संख्यामा उपस्थित प्रदर्शनकारीले राष्ट्रवादी साथीहरुलाई रिहाइ गर, प्रधानमन्त्रीको पाराले दुःख पाए साराले लगायत नारा लगाउँदै विरोध गरिरहेका छन् । मालीगाउँबाट टंगालको गहनापोखरीतर्फ जाने सडकको बीचमा बसेर नारा लगाइएकाले उक्त मार्ग अवरुद्ध भएको छ ।

पौडेल अस्ति राति पक्राउ पेका हुन् ।

टिप्पणीहरू