फेसबुकको चिनजान,यसरी गयो लीलाको ज्यान
-अञ्जनकुमार हिमाली
अनुहार हेरेरै दोष किटान हुन्थ्यो भने त सुन्दरबजार-१ कुन्छा लमजुङ्गका राम सुनार कुनै कोणबाट पनि अपराधी लाग्दैनन् । निकै भोलाभाला लाग्ने यस्तै युवाको हातबाट एउटी चेलीको क्रूर र पासविक हत्या भएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा कतार बसेर गत फागुनमा फर्किएका रामले फेसबुकमार्फत नै चिनजान भएकी बुटवलकी युवतीसँग यही असारमा विवाह गरेपछि लीलाले फेसबुकमा ब्लक गरेकी थिइन् । त्यसपछि खासै बोलचाल नभएपनि श्रीमतीलाई माइती पठाएपछि इमोमार्फत बोलचाल शुरू गरेका सुनार र अछामीवीच यस बीच दुई तीन पटक भेटघाटसमेत भएको रहेछ ।
मंगलबार लीला घरमै थिइन् । काम विशेषले बाहिर गएका बाबु डम्बरबहादुर सार्की ४ बजेतिर घर फर्केका थिए । सुनारले पहिला नै एसएमएसबाट आउनु भने पनि एक्लै घर कुरेर बसेकी अछामी घर छाडेर हिंड्ने कुरा भएन । बाबु आइसकेपछि सिकाइ कटाई सिक्दै गरेकी उनी करिब साढे पाँच बजेतिर दिदीकोमा जान्छु भनेर निस्किइन् । बाबुले छिट्टै आउनु भनेपनि रातको अबेरसम्म नआएपछि डम्बरबहादुरले छिमेक गुहारे ।
स्थानीय र प्रहरीको सहयोगले खोज्ने क्रममा हिजो मध्यान्न सोही नगरपालिका वडा नम्बर १ खड्केपानी जंगलको खोल्सामा टाउको फुटेको अवस्थामा लीलाको शव फेला पर्यो ।राम सुनारलाई बुधवार स्थानीयले शंकाको आधारमै समातेर जिल्ला प्रहरीको जिम्मा लगाए । किटानी जाहेरी पनि दिन खोजेका थिए । तर बिना कुनै आधार जाहेरी लिन नमिल्ने प्रहरीको सल्लाहपछि भने कुन्छा फर्केर खोज्ने अवस्थामा मृत फेला परेकी लीलालाई २५ वर्षीय रामले फकाईफुलाई अनकन्टार ठाउँ पुर्याएर करणी गरिसकेपछि घाँटी थिचेर श्वास फेर्न नसक्ने बनाएको र ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेर खोल्सीमा कोचेको पुष्टि भयो ।
हत्या गरिएको ठाउँबाट प्रयोग गरी फुटेको अस्थायी साधन,प्रहार गरेको ढुंगा अनि सुनारले लुकाई राखेको युवतीको सुनका गहनासमेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानमा आफूले गल्ती गरेको स्वीकार गरेका रामबिरुद्द मृतकका बाबुले जिल्ला प्रहरी कार्यालयमा आज भर्खर किटानी जाहेरी दिएका छन् । घटनाको प्रकृति हेर्दा राम एक्लैले मात्र गर्न नसक्ने देखिए पनि अहिलेसम्म कसैलाई पोलेका छैनन् । तर प्रहरीले उनका जुम्ल्याहा भाइ लक्ष्मणलाई पनि सोधपुछको लागि नियन्त्रणमा लिएको छ । तर राम लक्ष्मणकी आमा आफ्नो नाबालक छोराले यस्तो हर्कत गर्नै नसक्ने भन्दै छिमेकीबिरुद्द खनिएकी थिइन् ।


टिप्पणीहरू