जासुसहरुलाई कतै थप दरवन्दी,कतै अवकाशको पुर्जी
राष्ट्रिय अनुसन्धान विभाग अर्थात गुप्तचरतर्फ एआइजी सरहको अतिरिक्त अनुसन्धान निर्देशक पदमा एउटा दरबन्दी थप्ने कार्य गत हप्ता फत्ये गरेको सरकारले अब बल्ल कर्मचारी संरचनासम्बन्धी सर्भे गर्न लागेको छ ।
माओवादी र काङ्ग्रेसवीच भागबण्डा मिलाउन क्याबिनेटबाट एउटा पद थपिसकिए पनि जथाभावी बढुवा गर्दा मुद्दा पर्ने आकलनपछि नयाँ उपाय रच्न लागिएको बताइन्छ ।
विभागीय स्रोतका अनुसार ‘अबको आठदेखि १० दिनभित्र फास्ट ट्र्याकबाट ओएण्डएम सर्भे गरेर अतिरिक्त अनुसन्धान निर्देशक पदमा दुई जनालाई एकैचोटि उकाल्ने तयारी गरिएको हो । तर यही सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत कुनै पनि सरकारी निकायमा नयाँ दरबन्दी नथप्ने र भएको दरबन्दीसमेत १० प्रतिशतले कटौती गर्ने घोषणा गरेको थियो ।’
यसबीचका सम्पूर्ण प्रयास ओम जोशी र हुतराज थापालाई बढुवा गर्ने दिशातर्फ केन्द्रित रहेको देखिन्छ । राजनीतिक भागबण्डाअनुसार नेपाली काँग्रेस र माओवादीले एक एक जना अतिरिक्त अनुसन्धान निर्देशक बनाउने उद्देश्यले दरबन्दी थपिएको हो ।
तर, संख्यात्मक र कार्य क्षेत्रको हिसाबले ३७ हजार दरवन्दीको सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुई वटा मात्र भएकोमा अनुसन्धान विभागतर्फ दुई हजार जनशक्तिको निम्ति दुई वटा एआइजीको औचित्य पुष्टि हुन गाह्रो छ ।
यसैबीच बढुवाका दावेदार ओम जोशी, हुतराज थापा,हरिहर पौडेल र सुनिल ढकालको पाँच वर्षे कार्यकाल सकिन एक महिना बाँकी रहेकाले आज चारै जनालाई किताबखानाबाट प्राप्त सो को जनाउ पत्र बुझाइएको छ ।
राजनीतिक भागबण्डाअनुरुप ओम र हुतलाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने तर पहिलो नम्बरमा हुतलाई राख्नुपर्ने अडान माओवादीले छाडेको छैन ।
टिप्पणीहरू