भारतीय टोलीसामु आकस्मिक झडप

भारतका सत्तारुढ नेता, नेपाली सेनाका अवकाशप्राप्त जर्नेल, कर्णेलदेखि ४० देशका हिन्दूहरू भेला भए । तर, कार्यक्रम शुरु नहुँदै भाँडभैलो मच्चियो ।

नेपाललाई हिन्दू राष्ट्रकै रुपमा हेर्न चाहने थुप्रै नेपाली छन् । तर, त्यही विषयमा कार्यक्रम गर्न भारतीय संस्था नेपाल आयो । नेपाली संस्थाको व्यानर प्रयोग गर्दै आफ्ना मात्रै कुरा राख्न अघि सरेपछि भद्रगोल भयो ।

सत्तारुढ दल भाजपाको मातृसंस्था मानिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले उक्त संस्थाका वरिष्ठ नेतासहित भाजपाका केही नेता गरी २०–२२ जना र विभिन्न ४० मुलुकका हिन्दूवादीलाई भेला पारेको थियो ।

‘कञ्चन धाम र संयुक्त सनातन मोर्चाको संयुक्त आयोजनामा’ सनातन संस्कार संगम नामक कार्यक्रमका लागि निम्त्याइँदा तारानाथ लुइँटेलले अध्यक्षता गर्ने भनिएको थियो । तर, आरएसएसका वरिष्ठ नेता इन्द्रेशकुमारले त्यसो हुन दिएनन् । फलस्वरुप नेपाली हिन्दूवादी र भारतीय जोगीबीच कार्यक्रमस्थलमै धक्कामुक्का शुरु भयो । कार्यक्रमचाहिँ जुलाई २४ देखि २६ सम्मको थियो । शुरु दिनकै लफडापछि स्थगित पनि भएको छ ।

घटना आइतबार, साँझ ५ बजेको हो । पहिला लैनचौरस्थित होटल मल्लमा बोलाइएको कार्यक्रम सरेर लाजिम्पाटस्थित शंकर होटलतिर पुगेको थियो । ‘संयुक्त आयोजना’ भनिए पनि कार्यक्रममा कञ्चन धामको मात्रै व्यानर देखियो । अखण्ड भारतपक्षीय इन्द्रेशकुमारले सहभागीहरूलाई आफूले भनेअनुसार कार्यक्रममा बस्न भन्दै थिए ।

‘नेपालमा राजसंस्था फर्कियोस्, नफर्कियोस्, यो हाम्रो सरोकार होइन, तर हिन्दू राष्ट्र हुनैपर्छ’ भन्दै उनी बोल्न थालेपछि त्यहाँ पुगेका राजावादी हिन्दूहरू बम्किए । एक त कार्यक्रमको अध्यक्षता नेपालीलाई गराइँदै थिएन, अर्कातिर नेपालीकै अपमान गरियो भनी भारतबाट आएका केही सन्त, महन्थहरू नेपालीबाट घेरिए । एकै छिनमा प्रहरीका हुल गुटुटु छि¥यो । केहीलाई घेरामा राखेर भगाइयो पनि । स्थिति मुठभेडतर्फ जाने भएपछि खेम आचार्यहरूको सरसल्लाहमा कार्यक्रम स्थगित भयो ।

एक सहभागीले बताएअनुसार, इन्द्रेशकुमारको हेपाहा शैलीकै कारण कार्यक्रममा अप्रिय स्थिति उत्पन्न भएको हो । उनी आरएसएस प्रचारकका रुपमा नेपालमा पहिला बसिसकेका व्यक्ति हुन् । भारतका नेपालीभाषीको संस्था नेपाली साँस्कृतिक समाजका संरक्षक र सल्लाहकार हुन् । बढीजसो अयोध्यामा रहन्छन् ।

कार्यक्रममा सुनसरीको चतराधामस्थित सिद्धबाबा भनिने बलात्कार अभियोगी कृष्णदास गिरी पनि थिए । नेपालका सक्रिय राजावादीहरू दीर्घराज प्रसाई, अरुण सुवेदी र सेना, प्रहरीबाट अवकाश पाएका जर्नेल, कर्णेल त्यहीँ थिए । तर, कार्यक्रम शुरु हुनुअघि नै झडपको स्थिति भएपछि भागाभाग चल्यो ।

इन्द्रेशकुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग अस्ति सोमबार बिहान पौने दशदेखि साढे ११ बजेसम्म भेट गरेको छ । उक्त टोलीमा भाजपा नेता दिनेश रावतसहित ६–७ जना थिए ।

टिप्पणीहरू