पैसा डुबेपछि बल्ल सबै झसंग
काभ्रेपलाञ्चोक जिल्लामा दशकपछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायीसमेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखी सर्वसाधारणलाई जग्गा बिक्री गराएका छन् । जग्गा खरिद गर्नेमध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुर गरेका छन् ।
कास्की, काठमाडौँ जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएसँगै जग्गा ठगी गर्न काभ्रे आएको उजुरीपछि खुलेको छ । धादिङ घर भई बनेपामा १० वर्षदेखि बसोबास गर्दै आएका रवि रेग्मीले काभ्रेपलाञ्चोक जिल्ला साविक काेलाँती भुम्लु–७ घर भएकी निर्मला उप्रेतीलाई बनेपा नगरपालिका साविक १ नम्वर वडाको ८ आना जग्गा ४५ लाखमा बिक्री गरेका थिए । रेग्मीले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा १ ठेगाना राखी कित्ता नम्बर १५०४ को ८ आना जग्गा राखेर निर्मलालाई देखाएका थिए । उक्त जग्गा असार ३० गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकबाट पास पनि भयो । रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिए ।
०७९ साउन २ गते पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमार्फत मालपोत कार्यालय काभ्रेमा जग्गाको कित्ता नम्बर भिडाउँदा जग्गा नै नभएको फेला परेको हो । तत्कालै निर्मलाले प्रहरीमार्फत भू–माफिया रविलगायत लेखापढी गर्ने सीताकुमारी थापा र उनका श्रीमान् राजन थापा, मालपोत कार्यालय काभ्रेका कम्प्युटर अधिकृत शशित भण्डारी र रजिष्ट्रेशन ‘क’ मा कार्यरत कर्मचारी रामविनय यादवसमेतको मिलेमतो रहेको प्रारम्भिक अनुसन्धान गरी अधिकांशलाई नियन्त्रणमा लिएको छ । रेग्मीको घरबाट नगद ८ लाख ५० हजारसहित थुप्रै नक्कली कागजात फेला परेको छ भने सीताकुमारी र राजन थापाको कार्यालयबाट नक्कली कागजात फेला परेको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनुभयो ।
रेग्मीले चार जनाबाट १ करोड २५ लाख ठगी गरेको खुलेको छ । निर्मलालगायत उनका आफन्त गणेश मैनाली, रुकमणि हुमागाई, रिता तिमल्सिनालगायतले जग्गा खरिद गर्दा आफू ठगिएको पछि मात्रै थाहा पाएको बताएका छन् । प्रहरी कार्यालयमा जाहेरी दिँदै पीडितहरूले गिरोहका नाइके रवि रेग्मीले बनेपा ५ घोकेचौरको खोला करिडोर नजिकै प्लटिङको जग्गा देखाएका थिए । नक्सादेखि पुर्जासमेत सबै सक्कली बनाएर देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङको कागजमा कित्ता देखाएर मालपोत कार्यालय काभ्रेपलाञ्चोकले हाल साविक गरिदिएको ७६ कित्ता बनाएका थिए ।
यसअघि रेग्मीले ७ वटा यस्तै प्रकृतिको जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा साउन ८ गते पास गरिसक्ने गरी धेरै ब्यक्तिसँग बैना रकम लिएको स्वीकारेका छन् । मालपोतको रेकर्डमा उक्त जग्गामध्ये केही कित्ता ब्यक्तिका नाममा देखिएको भए पनि नक्साअनुसार सबै नक्कली हो । प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सरकारी छाप दस्तखत किर्ते गरी सर्वसाधारण ठगी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताउनुभयो । पीडितहरूको जाहेरीका आधारमा गिरोहमा संलग्न अन्यको खोजी भइरहेको जोशीले बताउनुभयो ।
टिप्पणीहरू