बाइलाइनका जमाना गए, लाइन झनझनै हावी भए, चुनाव पत्रकारको, तनाव नेताको

बाइलाइनका जमाना गए, लाइन झनझनै हावी भए, चुनाव पत्रकारको, तनाव नेताको

नेपाली कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आठ वर्षपछि अध्यक्ष साउन ६ र ७ गते शिव लम्साललाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षका लागि कांग्रेस नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला, गगन थापा, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिबीच गठबन्धन भएको थियो ।

संस्थापन पक्षबाट अनिता विन्दु प्रतिस्पर्धामा थिइन् । सत्तापक्षबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र डा. प्रकाशशरण महतको संयुक्त गठबन्धन प्रतिस्पर्धामा थियो । कुनै समूहमा नपरेका भुवन भट्ट स्वतन्त्र रूपले प्रतिस्पर्धामा उत्रेका थिए ।

युनियननिकट पत्रकारले जनाएअनुसार दुवै प्यानलबाट आफूनिकटलाई दायाँ–बायाँ नगर्न अघोषित ‘ह्वीप’ नै जारी गरिएको थियो । देशैभरका कांग्रेसनिकट पत्रकार चुनावभन्दा अघि नै माइण्ड सेट गरेर हेटौंडामा ओइरिएका थिए । मतदानमा सही विवेक प्रयोग हुन सम्भव थिएन । दुबै प्यानलले बाहिरैबाट राईट चिह्न लगाएको चिट दिएर पत्रकारलाई मतदानमा पठाएको युनियनका पार्षदको भनाइ छ । बाहिरबाटै चिट मतदान स्थलमा लगेर हुबहु सारेको अवस्था ती युनियनकर्मीले दर्शाए ।

‘एउटै समाचार लेख्न नसक्नेलाई आफूले जे भन्यो त्यही पत्रकारिता हो भन्ने भ्रम छ । पत्रकारिताका मूल्यमान्यता रत्तिभर अँगाल्न नसक्ने, तर नेतागिरी गर्नलाई पत्रकारितामा झुन्डिनै पर्ने बाध्यता एकाथरीलाई छ ।’

पत्रकार महासंघको महाधिवेशनताका झैं मतदानका लागि स्थानीय तहको निर्वाचन जितेका जनप्रतिनिधि, क्रियाशील कार्यकर्तादेखि होलसेलर पसलेसम्म हेटौंडा पुगेको देखियो । नेतैपिच्छेको भागबण्डा र सिण्डिकेटले युनियन महाधिवेशनको रौनकमाथि नै गम्भीर प्रश्न खडा भएको अनुभव पर्यवेक्षकको छ ।

यता, कांग्रेस नेतासँगको हिमचिम, पहुँच र प्रभावका भरमा उम्मेदवारी पनि तय भयो । उम्मेदवारीका लागि छिनाझप्टी, तानातान् र नेताका दैलोसम्मको लिगलिगे दौड हेर्दा पत्रकारको चरित्र गुमेको हो कि भन्ने झल्को दिएको कुनै पनि समूहमा नलागेका युनियनकर्मीले बताए । पदाधिकारीमा प्रायः नेताले तोकेपछि मात्र प्यानलमा पर्ने दुःखद यथार्थ रह्यो । आफ्ना मान्छेलाई टिकट दिलाउनका लागि कांग्रेस पार्टीभित्रै त्रिपक्षीय शक्ति संघर्षको अवस्थासमेत देखियो ।

कुनै गुट र नेताप्रति प्रतिबद्ध नभई स्वतन्त्र, अनुभवी, बौद्धिक र वास्तविक श्रमजीवी पत्रकारले हरहालतमा युनियनभित्र प्रवेश पाउन सक्ने अवस्था मेटिएको अनुभवी पत्रकार बताउँछन् । ‘पार्षद प्रणालीमै ठेकेदारी र सिण्डिकेट प्रथा हावी हुँदा राजनीतिक कार्यकर्तादेखि विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्ति मतदाता बनेर हेटौंडा पुगे । युनियनको स्वत्व, आत्मगौरव र अपनत्व नै संकटापन्न अवस्थामा पुगिसकेछ भन्ने लाग्यो,’ हेटौंडा पुगेर मतदानमा सहभागी भई काठमाडौं फर्किएका एक पार्षदको तीतो अनुभव छ । मत माग्नका लागि व्यवसायिकता र श्रमजीवीको नारा दिए पनि टिकट वितरण प्रणालीमा आशीर्वाद अनि अनुकम्पा हावी भएको युनियनकर्मीको गुनासो छ । अन्तिम समयमा आएर प्यानलमा परेका व्यक्तिको नाम कट्टा गर्दै थप्ने खेलसमेत चलेको बताइन्छ ।

‘नेताको खल्तिबाट टिकट लिने, गैरपत्रकारले मत हाल्ने अनि जित्ने बेथितिका कारण दैनिक आठ–दश घण्टा काममा जोतिने वास्तविक पत्रकार युनियनको घेरा बाहिर पर्ने खतरा देखियो’, एक युनियनकर्मी यसरी गुनासो पोख्छन्, ‘एउटै समाचार लेख्न नसक्नेलाई आफूले जे भन्यो त्यही पत्रकारिता हो भन्ने भ्रम छ । पत्रकारिताका मूल्यमान्यता रत्तिभर अँगाल्न नसक्ने, तर नेतागिरी गर्नलाई पत्रकारितामा झुन्डिनै पर्ने बाध्यता एकाथरीलाई छ । अपवादमा राम्रा अनुहार रहे पनि उनीहरू गैरव्यावसायिकबाट छोपिने स्थिति छ ।’

ती पत्रकारले हेटौंडा महाधिवेशन प्रतिनिधिमा आउने लाइनवालाले बाइलाइनवालालाई खाइदिएको चर्चासमेत चलेको सुनाए । बाइलाइनवाला वर्गलाई सञ्चार संस्थाका लागि रिपोर्टिङ गर्र्दैमा नेतागिरी गर्न फुर्सद नहुने तर लाइनवाला पत्रकार भने सरुवा, बढुवा, विज्ञापन, चन्दा आदिका अजेन्डा बोकेर हरेक दिन सिंहदरबार वा शक्तिकेन्द्र धाउने गरेको किस्सा हेटौंडामा चलेको थियो । समाचार र विचारसँग गोरु बेचेको साइनो पनि नहुने पत्रकारहरु महाधिवेशनमा दाजै र दिज्यु भन्दै कुदेको गुनासो श्रमजीवी व्यावसायिक पत्रकारको छ ।

महाधिवेशन सकिए पनि नेतृत्वमा पुग्नका लागि विभिन्न पेशा, व्यवसायमा संलग्न र कार्यकर्तालाई समेत सदस्यता बाँड्ने विकराल बेथितिले प्रवेश पाएको भन्दै युनियनभित्र गुनासो चर्केको छ । पत्रकारको नेता छान्न प्रतिनिधि भएर पुगेका वास्तविक श्रमजीवी र व्यावसायिकले पार्षदका रुपमा आएका कतिपय मतदाताको अनुहार देख्दा आँखा छोप्नुुपर्ने अवस्था रहेको बताइन्छ । पत्रकार नेता पत्रकार नै हुनुपर्छ, पत्रकारको नेता छान्ने अधिकार स्वयम् पत्रकारलाई नै दिइनुपर्छ भन्ने आवाज बोकेका पत्रकार फेरि पनि विलखबन्दमा परेका छन् ।

चुनावका लागि व्यापारीबाट चन्दा र मसलन्दको जोहो गर्दै उम्मेदवार बनेका चर्चासमेत चलेका छन् । सम्बन्धित व्यक्ति पत्रकारिता छाडेर विभिन्न पेशा–व्यवसायमा गइसक्दासमेत उसको नाम पत्रकारको सूचीमा कायमै रहेको अवस्था छ । महाधिवेशनका लागि देशभरबाट एक हजार ६ सय २० जना प्रतिनिधि चयन भएका थिए । अन्ततः लामो समयदेखि महाधिवेशन माग्दै उम्मेदवारी घोषणा गरेको लम्साल प्यानलले बाजी मा¥यो । केन्द्रीय समितिमा झण्डै दुई तिहाइसहित सो समूह विजयी भएको छ ।

लम्सालले ७४५ मत ल्याएर विजयी हुँदा अनिता विन्दुले ६१२ मत ल्याइन् । महासचिवमा गगन थापा पक्षका दिलिप पौडेल ८६८ मत ल्याएर विजयी बने भने विश्वप्रकाश शर्मा पक्षका प्रतिस्पर्धी जगन्नाथ दुलालले ५५१ मत पाए । इतर पक्षले अन्तिममा रामचन्द्र पक्षनिकट खिला कार्कीलाई महासचिवबाट हाप्न लगाएको थियो ।

विन्दुको हारमा उम्मेदवारी घोषणामा ढिलाइ, अन्धाधुन्द सदस्यता, प्रचारको कमी, अन्तिम समय टिममा फेरबदल, निर्वाचन परिचालन र व्यवस्थापनमा कमजोरी, संस्थापन पक्षबाट अध्यक्ष बनेका बद्री सिग्देलमाथि नौ वर्षसम्म महाधिवेशन गर्न नसकेको आरोप, सरकारी सञ्चारमाध्यम र इतर पक्ष भन्ने इगो, पत्रकार महासंघको टिकटमा भएको लाखापाखा, गुटभित्रै पनि उपगुट र फुट, इतर समूहले उठाएको आर्थिक अनियमितताको आरोपको भरपर्दो खण्डन हुन नसक्नुजस्ता कारण बनेको भनी आन्तरिक समीक्षा भएको जनाइएको छ ।

टिप्पणीहरू