मास्कवालाको हार, क्राइमवालाको जित
कोरोनाकालमा मोबाइलको रिङब्याक टोनबाटै मास्क र स्यानिटाइजर प्रयोग गर्न सिकाउने पत्रकार अनिता बिन्दु नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनमा हारेकी छन् । अपराध बिटमा काम गर्दै आएका टेलिभिजन कार्यक्रम उत्पादन र प्रस्तुत गर्ने शिव लम्सालको जित भएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा संस्थापन पक्षबाट उम्मेदवार बनेकी बिन्दुले जित्ने धेरैको अनुमानलाई शिव लम्साल नेतृत्वको गैरसंस्थापन पक्षले गलत सावित गरिदिएको छ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा भएको नवाैँ महाधिवेशनमा लम्सालले ७ सय ४५ मत ल्याउँदा विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अध्यक्ष पदमै १९ मत प्राप्त गर्ने अर्काे उम्मेदवारको नाम हो–भुवन भट्ट । कूल मतदाता १ हजार ६ सय रहे पनि १ हजार २ सय ९७ मत मात्रै खसेको थियो ।
८ वर्षअघि बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संगठनमा राम्रै छवि निर्माण गरेको बुझ्न सकिन्छ । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी (६८५), खुला उपाध्यक्षमा नकुल अर्याल (७७५) र भीष्मराज ओझा (६४०) निर्वाचित हुँदा । महिला उपाध्यक्षमा सलोजा दाहाल ७२० मत ल्याई निर्वाचित हुनुभयो ।
१ नं प्रदेश उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेस उपाध्यक्षमा अनिल कर्ण, बागमतीमा डाक्टर मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, गण्डकी प्रदेश उपाध्यक्षमा माधवप्रसाद अर्याल, राजेन्द्रबहादुर कार्की कर्णाली प्रदेश उपाध्यक्ष, प्रेम चुनारा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष र जीवन भण्डारी उपत्यका प्रदेश उपाध्यक्षमा विजयी भए ।
महासचिवमा दिलिप पौडेल ८ सय ७८ मत प्राप्त गरी विजयी भए भने उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी छानिए । महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भए । समावेशीतर्फ उपमहासचिवमा अभयकुमार राई निर्वाचित भइरहँदा सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत चुनिएका छन् । महिलातर्फको सचिवमा पुष्पा शर्मा र केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी तथा खुला सदस्यमा गिरिराज पोखरेल र घनश्याम पौडेल विजयी भए । कोषाध्यक्षमा माधव धिताल आएका छन् ।
शक्ति केन्द्रहरू हारेरै पनि पद्धति सुचारु
प्रेस युनियनको महाधिवेशनले एक साता बागमती प्रदेशको राजधानी हेटौँडालाई राम्रै ततायो । शेरबहादुर देउवाको निकट मानिएका बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको गृहजिल्लामा शक्ति केन्द्रहरूको पर्याप्त चलखेल नभएको होइन । तैपनि देउवा, बानियाँसहितको गठबन्धनलाई नराम्ररी धक्का लाग्यो । आफ्नो प्यानललाई जिताउनका लागि बानियाँ टोलीले राम्रै आर्थिक लगानी गरेको समेत गाइँगुइँ सुनिएको छ ।
पार्टी र सरकारको सत्ता अनि शक्तिमा रहँदासमेत अधिकांश प्यानलै हार्ने गरी महाधिवेशन भइरहँदा केही महिनाअघि पोखरामा सम्पन्न नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारीको महाधिवेशनलाई अधिकांश युनियनकर्मीले सम्झना गरेका छन् । ओली पक्षमा तल–माथि पर्ने डरले निर्वाचन नै नगरी रातारात प्रतिनिधिहरू धपाइएका थिए भने एकल रूपमा मनमौजी तरिकाले नेतृत्व चयन भएको थियो ।
काँग्रेसमा १३ महाधिवेशनपछि भ्रातृ संगठनको अधिवेशन नहुने र मनमौजी तरिकाले चल्ने थिति रहे पनि अहिले आफूले हार खाएर भए पनि महाधिवेशनबाट नेतृत्व चुन्ने लोकतान्त्रिक विधिलाई संस्थापन पक्षले सहज स्वीकार गरेको युनियनकर्मीको भनाइ छ । यद्यपि, संस्थापन पक्षले गम्भीर हार खाएर महाधिवेशन गरिरहँदा कम्युनिष्टका पत्रकार संगठनहरूलाई भने युनियनले सबक सिकाएको विश्लेषण गरिएको छ ।
मतदानमा फर्जी प्रतिनिधि पनि
महाधिवेशनमा कोषाध्यक्षको प्रतिवेदन पास गर्न वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई निकै सकस प¥यो । त्यसैबेला शिव लम्सालले मधेस प्रदेशका पत्रकारलाई गम्छा बाँड्न थालेपछि झन् आपत आइलाग्यो । प्रतिनिधि बनेर आएका कतिपय चार्टर एकाउन्टेन्सी अध्ययन गरेका प्रतिनिधिले समेत बाल क्लबको भन्दा गैरजिम्मेवार ढंगले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको भनेर उडाउनु उडाएको एक प्रतिनिधिले बताए ।
त्यसो त रुकुम, मनाङलगायत कतिपय जिल्लाका प्रतिनिधि भनेर नाम दर्ता भएकाहरूले मत हालेको र ती हेटौँडा निबासी नागरिक नै रहेको बताइन्छ । युनियनको निर्वाचनमा संस्थापन पक्ष कमजोर देखिएपछि त्यसभित्र पनि रुवाबासी र सुँक्काँसुँक्की छ । खासगरी वरिष्ठ उपाध्यक्षमा पराजित सरोज अधिकारीलाई संस्थापन पक्षको उम्मेदवारी चयन गर्ने जिम्मा दिइएको र उनकै एकल निर्णयका कारण परिस्थिति उल्टो सिर्जना भएको सोही समूहका नेताहरू बताउँछन् ।
कतिपय युनियनकर्मीहरूले चाहिँ अध्यक्षका उम्मेदवार विन्दुले पूर्वअध्यक्षहरूलाई सम्मान गर्न नसकेको, मतदातासामु नगएर मञ्चमै बसेको, मतदाताहरूसँग सम्बन्ध नै राख्न नसकेको जस्ता टिप्पणी गरेका छन् ।
टिप्पणीहरू