राजधानीको फोहोर व्यवस्थापन र ६५ करोडको बजेट
काठमाडौंबासीले पुनःफोहोरसँग सम्झौता गर्नुपर्ने भएको छ । पटक पटकको अवरोधपछि नियमित उठाउन लागिएको फोहोर १० दिनअघि सडकको समस्या देखाउँदै एक साताको निम्ति रोकियो । काठमाडौं महानगरले सूचना प्रकाशित गरेर फोहोर नउठाउने जानकारी गराएको हो ।
तर हिजोदेखि फेरि फोहोर उठाउन थालिएको छ । महानगरले सिसडोलबासीको माग सम्बोधन गर्न नसकेपछि फेरि फोहोर नउठ्ने स्थितिमा पुगेको छ । उपत्यकाबासी पुनः एक पटक नाक थुनेर हिँड्न बाध्य हुनेछन् ।
आगामी भदौ १ गतेदेखि बन्चरेबासीले फोहोर बिसर्जन गर्न नदिने भएपछि काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा चर्को समस्या उत्पन्न हुन लागेको हो । बन्चरेबासी र महानगरपालिकाबीच पटक पटक सहमति भए पनि दीर्घकालीन समस्याको समधान भने हुन सकेको छैन ।
सिसडोल र बञ्चरेडाँडा वरपरका स्थानीले पटक पटक आफूहरुको विभिन्न माग महानगरले सम्बोधन नगरेको भन्दै फोहोर बिसर्जनमा अवरोध गर्दै आएका हुन् । पछिल्लो समय महानगरले विभिन्न योजना, कार्यक्रमका निम्ति बजेट छुट्याए पनि उनीहरुले आफूहरुको माग सम्बोधनमा निम्ति पहल नगरेको भन्दै भदौ १ गतेदेखि फोहोर फाल्न नदिने जानकारी गराएका हुन् ।
बञ्चरेबासी कुनै हालतमा काठमाडौंको फोहोर फाल्न नदिने निर्णयमा पुगेका छन् । महानगरले आश्वासन मात्र दिने आफूहरुको कुनै माग पूरा नहुने रोगले आजित भएपछि यस्तो निर्णय लिनुपरेको उनीहरुको आरोप छ ।
महानगरले आफूहरुलाई स्वास्थ्य, रोजगारीलगायतको व्यवस्थापन गर्ने सहमति पटक पटक गरेको तर, कार्यन्वयन नभएकोमा दुःखेसो पोखेका छन् । आफूहरु फोहोर बिसर्जनमा रोक लगाउन बाध्य भएको गाउँपालिका प्रमुख सुमन तामाङले बताए ।
महानगरले बञ्चरेबासीको माग सम्बोधन गर्न नसकेको तामाङको आरोप छ । उनले महानगरले झुक्याउने काम गर्दै आएको आरोप लगाए । उनले भने, ‘हामीले आफ्ना जनतालाई खुशी बनाउने हो । तर महानगरले स्थानीयको माग नै सम्बोधन गर्न सकेन । त्यसैले हामीले कुनै हालतमा महानगरलाई सहयोग गर्न सक्दैनौं ।’
फोहोर बिसर्जनका कारण सिसडोलबासीमा हैजाको जोखिम बढेको वडा नम्बर–३ का वडाअध्यक्ष घननाथ बजगाईंले बताए । प्रमुख समस्या स्वास्थ्यमा परेको उनको बुझाइ छ ।
स्थानीयको माग स्थानीय तवरले स्वास्थ्य र रोजगारीको उचित प्रबन्ध मिलाउनु पर्ने रहँदै आएको छ । आफूहरुसँग गरेको सम्झौता पूरा नभएपछि फोहोर बिसर्जन गर्न नदिने निर्णयमा पुगेको उनको भनाइ छ ।
तर सिसडोलबासीको माग सम्बोधन गर्न नसकेको महानगरले काठमाडौंमै फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । महानगरका अनुसार बजेटको केही हिस्सा कुहिने फोहोरबाट मल निकाल्न प्रयोग गरिनेछ । त्यस्तै, प्लास्टिकजन्य फोहोरको पुनः प्रयोग तथा व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्न लागिएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कुहिने र नकुहिने दुबै फोहोर सहज तरिकाले व्यवस्थापन गर्न उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
महानगरले हाल फोहोर व्यवस्थापनको निम्ति महानगरपालिका वरपरका नगरपालिकासँग सहकार्य गरिरहको प्रवक्ता मानन्धरले जानकारी दिए । सोहीअनुसार महानगर नजिकैका नगरपालिकामध्ये एक पालिकामा उद्योग निर्माण गर्ने तयारी भइरहेको छ । उद्योग निर्माणको कार्य तत्काल थालिने उनले बताए । उद्योग सञ्चालनपछि कुहिने फोहोरलाई जैविक मलको रुपमा प्रयोग गर्न सकिनेछ ।
बन्चरेबासीको माग सम्बोधनका निम्ति महानगरले काम गरिरहेको बताउँदै मानन्धरले भने,‘बञ्चरेडाँडातर्फ जाने सडक निमार्णको काम एक सातापछि सकिन्छ । अरु माग पनि पूरा गर्दैछौं ।’
टिप्पणीहरू