बेलायतका भूपू गोर्खा बूढाबूढीलाई ठग्दै गोर्खा तन्नेरी
लण्डन बस्ने एकजना भूतपूर्व गोर्खाले बृद्धबृद्धा भूतपूर्व गोर्खाहरुलाई नराम्ररी ठगेका छन् । कुनै बेला गोर्खा आन्दोलन र नेपाली कांग्रेसको गतिविधिमा देखिने सूर्य नेम्वाङ लेखपढ गर्न नजान्ने ज्येष्ठ नागरिकलाई चुस्न कस्सिएका हुन् । उनको कमाउ धन्दा अब अदालतसम्म पुग्ने चरणमा छ । आफन्तजनसहित धेरै बृद्धबृद्धा ठगिएको चाल पाएपछि एकजना गोर्खा सन्तान रविन राई अत्याचारविरुद्व र न्यायका निम्ति जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै सतहमा आएका छन् ।
गोर्खाका वयस्क सन्तानलाई आवासीय भीसा मिलाइदिने आश्वासन दिंदै नेम्वाङले एकजना गोर्खाबाट ५ हजार पाउण्ड (७ लाख ५० हजार रुपैयाँभन्दा बढी) सम्म लिने गरेको खुलासा भएको छ । उनले ५ वर्षयता झण्डै ५ सय भन्दा बढी भूतपूर्व गोर्खाहरुसँग ५ हजार पाउण्डसम्म रकम असुलेको बताइन्छ । उनले यस्तै धन्दाबाट पाँचथरमा लिफ्टसहित ५ तले घर ठड्याइरहेको चिन्नेहरु बताउँछन् । बूढाबूढीसँग पैसा उठाउन नेम्वाङकी श्रीमती आफैं घर घर पुग्ने गरेकी छन् ।
‘यो ठगले यूकेमा रहेका मामा माइजूलाई मात्र होइन्, नेपालबाट यूके भिसा अप्लाइ गर्दा भीसा ग्यारेन्टीसहित आवेदनको फि पनि अत्यधिक असुल गरिरहेको सूचना प्राप्त भएको छ’, रविन राई भन्छन्, ‘त्यसकारण फेरि पनि आम नेपाली दाजुभाइ, दिदी बहिनी र आमा बुबाहरुमा अनुरोध छ कि सूर्य नेम्वाङ कुनै वैधानिक मान्यताप्राप्त वकिल होइनन् । उनले अहिले गरिरहेको काम कानूनतः अवैधानिक छ, अब तपाईंहरु नफस्नुस् ।’
बेलायतजस्तो विकसित मुलुकमा एक ठग पात्रबाट अर्को नेपाली ठगिनु आफैंमा दुःखद र खेदजनक रहेको बताउँदै राईले नेम्वाङलाई धेरै समयदेखि सचेत गराउँदा पनि ठग्ने काम जारी राखेकाले अब कानूनी उपचारमा जान बाध्य भएको बताएका छन् । नेम्वाङले मुद्दाको अन्तिम फैसला पक्षमा थाहा पाएपछि बेखवर रहेका क्लायन्टलाई ब्लाकमेलिङ गर्दै ४५ सयदेखि ५ हजार पाउण्ड दिए भीसा मिलाइदिने ग्यारेन्टी गर्छु, नत्र केस बिग्रन्छ भनी असुल्ने गरेका छन् ।
ठगीका समाचार यत्रतत्र फैलिएपछि एभरेष्ट ल सोलिसिटर फर्मले उनलाई निकालेको छ भने सत्याग्रह संयुक्त संघर्ष समितिले पनि अभियानबाट हटाएको छ । कानूनी उपचारको प्रक्रिया चलिरहँदा नेम्वाङले भने अझै पाकिस्तानीको अर्को फर्म बोण्ड आडम्स् सोलिसिटर्स फर्ममा आबद्ध भएर ठग्ने काम छोडेका छैनन् । बरु आफू जेल जान तयार रहेको तर ठगी नगरेको दाबीसहित खुलेआम हिँडिरहेका छन् ।
टिप्पणीहरू