संसद र पार्टीका बैठकमा बसेर,ब्याडमिन्टन खेल्दा घण्टौँ उभिएर
भियतनामका हो चि मिन्हले आफूलाई “काका” भनेर चिनाए झैं एमाले पंक्तिभित्र “बा’ भनिन रुचाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओली वाककलामा पोख्त नेता हुनुहुन्छ । राजनीतिभन्दा बाहिरका गतिविधिमा समेत उत्तिकै सक्रिय भएर लाग्ने उहाँको अर्को खास विशेषता हो । राजनीतिका अलावा धर्म,संस्कृति,दर्शन, खेलकुद,कला साहित्य, संगीत सबैतिर विशेष क्षमता छ । लाग्छ,उहाँले नजानेको काम र नबुझेको कुरा केही छैन । त्यहि भएर होला सडकमा ‘आइ लभ यू केपी बा’ भनेर नारा लगाउनेहरुले उहाँलाई ‘राजनेता’ पनि भन्ने गरेका छन् ।
साँचै अद्भूत क्षमता छ ’बा’ कमरेडसँग । केही महिनाअघि उहाँले क्यारम खेल्दै गरेको भिडियो खिचेर कार्यकर्ताले सामाजिक सञ्जाल रँगाएका थिए । राजनीतिमा एकातिर बन्दुक तेर्साएर,अर्कोतिर पड्काउन सिपालु उहाँले टंकी तानेर क्यारेमको गोट्टी जुनसुकै प्वालमा खसाल्ने क्षमता अचम्मकै थियो । क्यारेम मात्र होइन उहाँ बेला–बेला स्नुकर हाउसमा पनि देखिनुहुन्छ । हालै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेलगत्तै स्नुकर खेलेर रमाउँदै गरेको फोटो सार्वजनिक भएको थियो ।
अस्ति गृहजिल्ला झापा पुगेर उफ्री उफ्री ब्याडमिन्टन खेलेपछि त उहाँ त्यसमा पनि उत्तिकै पोख्त रहेको प्रमाणित भइसकेको छ । ओलीले आफूलाई राम्रो फुटबल र टेबुल टेनिस खेलाडी भएको पनि बताउने गर्नुहुन्छ । त्यतिमात्र होइन,उहाँको मुखबाट बाँसुरीको मीठो धुन पनि निस्कन्छ । पहिलोचोटी प्रधानमन्त्री भएका बेला उहाँले बालुवाटारमै माधव नेपाल र झलनाथ खनाललाई दायाँबायाँ राखेर सुरिलो आवाजमा बाँसुरीको धुन निकाली दुनियाँलाई चकित पार्नुभएको थियो ।
वाककला त उहाँको यसै पनि मुख्य विशेषता भइहाल्यो । त्यही कलाले विपक्षीलाई चोटिलो प्रहार गरेर आफ्ना कुरा माथि पार्न सहयोग गर्दै आएको छ । समकालीन नेताहरुले हुँदै नभएका कुरालाई पनि हो जस्तो पार्न सक्ने अचम्मको क्षमता ओलीमा रहेको भन्ने गरेका छन् ।
धर्मशास्त्र र पूर्वीय दर्शनको बहसमा ओलीलाई कसैले सक्दैन । उहाँलाई भेट्नेहरु रामायण र महाभारतका कुरा सुनाएर मख्खै पारिदिने गरेको बताउने गर्छन् । कविता पनि त्यत्तिकै फुर्छ । अलि अगाडि चन्द्रागिरि डाँडामा उक्लिएर ठाउँको ठाउँ कविता कोरेपछि कार्यकर्ताले आँसुकविको हाराहारीमा राखेर प्रचार गरेका थिए । इतिहासका बारेमा त झन उहाँको ज्ञान असीमित छ । भानुजयन्तीका अवसरमा हालै एक कार्यक्रममा ओलीले भानुभक्त आचार्यले लेखेका कतिपय ग्रन्थमा आशङ्का गर्ने ठाउँ रहेको बताउनुभएको थियो । उहाँले घाँसी कविता भानुभक्तले नलेखेको जिकिरसमेत गर्नुभयो ।
आयुर्वेद र औषधि विज्ञानका कुरा गर्न थाले ओलीलाई चिकित्सकले पनि भ्याउँदैनन् । कोरोनाले विश्व आक्रान्त भएका बेला प्रधानमन्त्रीको कुर्सीबाट बेसार पानी र अम्बाको पात उमालेर खान सल्लाह दिनुभएको धेरै भएको छैन । त्यसका साथै बेला–बेला उहाँ खानपिन र आयुर्वेदिक औषधिका बारेमा लामै प्रवचन दिने गर्नुहुन्छ । अहिलेको सूचना तथा सञ्चार,विज्ञान प्रविधि र आधुनिक विकासका सन्दर्भमा पनि ओली त्यत्तिकै जानकार देखिनुहुन्छ । रेल, पानीजहाज,हावाबाट बिजुली,घर–घरमा ग्यासको पाइप आदिको स्रोत उहाँको विशेष ज्ञान नै हो ।
यस्ता सर्वज्ञाता ‘बा’ ले आखिर नजानेको चाहिँ के छ त ? घटनाक्रमले के पुष्टि गर्छ भने उहाँले राजनीति चैं खासै जान्नुभएको रहेनछ । संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना गरेकै छैन तर उहाँले छ महिनाको अन्तरालमा दुई–दुई पटक संसद भंग गरेर रेकर्ड कायम गरिदिनुभयो । संविधानले कल्पनै नगरेको प्रमुख प्रतिपक्षी दलको नेताविहीन संवैधानिक परिषद्को बैठक बसेर आफू अनुकूल नियुक्ति गर्ने उहाँ नै हो । अध्यादेश ल्याएर कानुन संशोधन गरी संवैधानिक निकायमा उहाँले गरेका ती नियुक्ति अहिले पनि विवादित छन् । त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
राजनीति मिलाउन नजानेकै कारण झण्डै दुईतिहाइ जनमतसहित पाँच वर्षका लागि सरकारमा पुग्नुभएका उहाँ तीन वर्षमै बालकोट फर्कन पर्यो । चार वटा प्रदेशमा सरकारको नेतृत्व गरेको उहाँको पार्टी अहिले सबैतिर प्रतिपक्षी बेञ्चमा छ । स्थानीय निर्वाचनसम्म आइपुग्दा एमाले थप कमजोर बनेको छ ।
उहाँले नजानेका कुरा अरु पनि छन्,देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष भए पनि मार्क्सवाद,साम्यवाद र समाजवादको खासै चर्चा गरेको सुनिँदैन,बरु राम मन्दिर र पशुपतिमा जलहरी चढाएका कुरा आइरहन्छ । अर्को अनौठोचाहिँ कोर्टमा उफ्रीउफ्री ब्याडमिन्टन खेल्ने उहाँ संसद र पार्टीका बैठकहरुमा भने बसेर सम्बोधन गर्नुहुन्छ । हो,दुई–दुई पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका उहाँ शारीरिकरुपले अशक्त हुनुहुन्छ । त्यसैकारण संसदमा बसेरै सम्बोधन गर्दा पनि कसैले विरोध गरेको छैन,सबैले सहजै लिएका छन् ।
तर,घन्टौं ब्याडमिन्टन खेल्न सक्ने,चुनावी अभियानका लागि देशैभरका सभामा पुगेर भाषण गर्न सक्ने अनि जननिर्वाचित सर्वोच्च संस्थामा एकछिन बोल्नु पर्दा बस्नको लागि कुर्सी चाहिने किन हुन्छ ? हुन त ओली कुर्सीप्रेमी नै हुनुहुन्छ भनिन्छ । पार्टीका कार्यक्रमहरुमा कार्यकर्ताले उहाँलाई विशेष खालको कुर्सी व्यवस्थापन गरेको देखिएकै छ । प्रधानमन्त्री हुँदा ओली सहभागी हरेक कार्यक्रममा आयोजकले उहाँका लागि छुट्टै कुर्सी राखेको पनि देखिएको हो । कुर्सीकै विवादले तत्कालीन नेकपामा किचलो भएको माधव नेपाल र प्रचण्डले धेरै पटक भनिसक्नु भएको छ ।
प्रश्न के भने,संसदमा समेत बसेर भाषण गर्नुपर्ने अवस्थाको बिरामीले घण्टौंसम्म ब्याडमिन्टन खेल्न कसरी सक्छ ? ए ‘बा’,तपाईं र तपाईंका कार्यकर्ताले अप्ठेरो नमाने पनि लोकले यो कुरालाई त्यति सहज मानेको छैन है !
टिप्पणीहरू