माधव नेपाल र प्रचण्ड दुबै गद्दार हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले नेता कृष्णगोपाल श्रेष्ठले सत्ता स्वार्थको निम्ति दक्षिणपन्थी र काँग्रेसको शरणमा पुगेका माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डजस्ता गद्दारहरुसँग कुनै पनि हालतमा एमालेले पार्टी एकता र सहकार्य नगर्ने बताउनुभएको छ । उहाँले उनै नेपाल र दाहालसमेतको संलग्नता र अदालतको आदेशमा ल्याइएको परमादेशी सरकारले मुलुकलाई असफल बनाउन खोजेको आरोप पनि लगाउनुभएको छ ।
उहाँले उक्त कुरा एमाले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ६,७,८,९ र १० को कलंकीमा भएको संगठन सुदृढिकरण तथा शुध्दिकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्त गर्नुभएको हो । एमसीसी र एसपीपीको नाममा नेपाललाई विदेशीको क्रिडास्थल बनाउन उद्दत वर्तमान सरकारले जनताको पक्षमा कुनै पनि काम नगर्ने ठोकुवा पनि उहाँले गर्नुभएको छ ।
नेता श्रेष्ठले भन्नुभयो, ‘जनबल र जनताको अभिमतबाट अस्वीकृत शक्तिहरु अदालतको आदेशमा आएकाले वास्तविक रुपमा जनताको जनप्रतिनिधि एमाले पार्टी हो । त्यसैले आगामी निर्वाचनमा विजयी हुने ढंगले सबै जना अगाडि बढौं ।’
पार्टीले गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा व्यहोरेको पराजयको प्रमुख कारण दक्षिणपन्थी अपवित्र गठबन्धन रहेको उहाँको निश्कर्ष छ । सँगसँगै पार्टीभित्रको आन्तरिक कलह र अन्तरघातले पनि पार्टी पराजयमा मलजल पुगेको उहाँले स्वीकार्नुभयो ।
टिप्पणीहरू