आमरण अनसनकारीले ठाउँ सरेपछि मुख खोले

आमरण अनसनकारीले ठाउँ सरेपछि मुख खोले

१० दिनदेखि आमरण अनसन बस्दै आएका गंगालाल श्रेष्ठले आफ्नो रिक्सा अभियानलाई सफल हुन नदिन षड्यन्त्र रचिएको आरोप लगाएका छन् । उनले यस्ता गलत कार्य तत्काल रोक्न सरकारसँग माग पनि गरेका छन् ।

अपराधीलाई संरक्षण गर्ने,निर्दोष र निमुखा जनतालाई झुटो अभियोग लगाई फसाउने खेल बन्द हुनुपर्ने उनको नौ बुँदे मागमा उल्लेख छ ।

न्यायालय अपवित्र भएको,टुकुचाको ढलभन्दा पनि बढी गन्हाएको भन्दै न्यायालय सुधारको पनि उनले माग गरेका छन् । न्यायको खोल ओढेर अपराधिक कार्य गर्ने जोसुकैलाई तुरुन्त कारबाही गर्न सरकारसँग उनको माग छ ।

नेपाल नौलो जनवादी पार्टीको अध्यक्षसमेत रहेका श्रेष्ठले न्यायालयले पावर,मनी र सेटिङको प्रभावमा परेर न्याय सम्पादन गर्ने गरेको आरोप लगाएका छन् । न्यायालयलाई अपवित्र पार्न मद्दत पुर्याएको नेपालको संविधान २०७२ को धारा ५५ तुरुन्त संशोधन गर्नुपर्नेलगायत माग राखेर उनले आमरण अनसन थालेका हुन् ।

श्रेष्ठले शान्ति स्थापनाको निम्ति आफ्नै नगरपालिकास्थित चण्डेश्वरी माविमा गत फागुन २८ गते जोडी परेवा उडाएर रिक्सा चढी देश भ्रमणको अभियान थालेका थिए ।

काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका– १० का श्रेष्ठ आमरण अनसन बसेको आज १० औँ दिन हो । हिजो बिहानसम्म कोटेश्वरको महादेवस्थानमा बसेका उनी दिउँसोबाट माइतीघरमा सरेका छन् ।

टिप्पणीहरू