बालकोटको ढोका पुण्यलाई बन्द

बालकोटको ढोका पुण्यलाई बन्द

पार्टी फुटेको बेला ‘मिलाऔँ–मिल्नुपर्छ’ भन्नेलाई त साथमा लिएर जानुपर्ने हो, तर कसैले त्यसो भन्यो कि अर्कोचोटिदेखि उसले अगाडि पर्ने आशै नगर्दा हुने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा यस्तो हुन थालेको हो । अरु थुप्रैले यस्तो कुरा गरेबापत पाइरहेको भेट पाउन छाडे । त्यसमध्येकै हुन्, कर्मचारी नेता पुण्यप्रसाद ढकाल । उपसचिव बढुवालगत्तै आफ्नै कार्यकालमा पाँचथरको सिडिओ बनाएर पठाइएका उनले दुई महिनादेखि भेट्नका लागि स्वकीय सचिव राजेश बज्राचार्यलाई फोन गरेको गर्यै छन्, समय पाएका छैनन् ।

अहिले उनले नभेटी नहुने कारण हो, अमेरिका जानुपर्ने, बिदा माग्नुपर्ने । दुई वर्षअघि नै अमेरिकाको मल्टिपल भीसा लागेर पासपोर्ट त्यसै थन्किएको थियो । पाँच वर्षभित्र एकचोटि अमेरिका छिरेर फर्किने रहर लागेपछि जान लागेका हुन् ।

तर, जानुअघि अध्यक्षलाई भेट्न पाए हुन्थ्यो भन्ने इच्छा पूरा हुन सकेको छैन । उनले बहुदलीय व्यवस्थामा दुई दलीय व्यवस्था राम्रो हुन्छ भन्ने मान्यता राख्दै आएका छन् । यदि त्यस्तो भयो आवधिक निर्वाचनमा दुई दलले भाग लिन्छन् र स्थिर सरकार बन्न सक्छ भन्ने गरेका छन् । बेलायत, अमेरिका, भारतका निर्वाचन अभ्यास यस्तै किसिमको हुने गरेको छ ।

यदि त्यस्तो भयो भने वामपन्थीको छुट्टै मोर्चा बन्न सक्छ र विभाजित वाम दलहरू एक ठाउँमा आउने अवस्था हुन्छ । तर, पुण्यका यस्ता मिल्ने कुरा ओलीलाई मन परेन, फलतः भेटै पाएनन् ।

उनले अन्तिम भेटमा भनेका थिए, ‘चुनावमा टिकटका लागि दौडधुप गर्ने, नपाएपछि चूप लागेर बस्ने प्रवृत्ति देखिएको छ । पार्टी ठूलो–बलियो हु्ँदा कारबाही गर्नु स्वाभाविक हुन्छ । पार्टी कमजोर अवस्थामा हुँदा भएका मान्छे पनि जालान् भन्ने पीर हुन्छ ।’

टिप्पणीहरू