मदन भण्डारीका नाममा राजधानीमा अन्तर्राष्ट्रिय जमघट

मदन भण्डारीका नाममा राजधानीमा अन्तर्राष्ट्रिय जमघट

नेकपा एकीकृत समाजवादीले तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा विश्वभरका कम्युनिष्ट प्रतिनिधिलाई भेला गराएर समाजवादबारे थप जानकारी गराउने भएको छ । आजदेखि यस कार्यक्रममा १६ वटा मुलुकबाट वामपन्थी दलका प्रतिनिधिहरुले भाग लिन लागेका छन् ।

मदन भण्डारी स्कूल अफ एशियाको संयोजनमा एकीकृत समाजवादीनिकट नेताहरुले कार्यक्रमको आयोजना गर्न लागेका हुन् । ग्लोबल स्कूलको रुपमा परिचित उक्त कार्यक्रममा भाग लिन काठमाडौैंमा १६ वटा मुलुकका वामपन्थी प्रतिनिधिहरु आइसकेका छन् ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन गर्ने उक्त अध्ययन कार्यक्रम २१ दिनसम्म चल्नेछ । उद्घाटनपछि बन्द कक्षामा मार्क्सवाद र लेनिनवादका विविध आयाम,पछिल्लो अनुभवको बारेमा जानकारी गराइने बताइएको छ ।

एकीकृत समाजवादीका अनुसार ब्राजिल,अर्जेन्टिना,घाना,मलेसिया र थाइल्याण्डका प्रतिनिधि सहभागी हुँदैछन् । त्यसैगरी दक्षिण एशियाका भारतलगायत सबै राष्ट्रमा रहेका कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाएका छन् ।

छिमेकी मित्रराष्ट्र चीनको कम्युनिष्ट पार्टीका प्रतिनिधिले भने भर्चुअल रुपमा भाग लिने बताइएको छ । २१ दिनसम्म ती सबै प्रतिनिधिलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा खाने र बस्ने व्यवस्था मिलाइएको छ ।

कूल ६० जनामध्ये विदशी ४० जना र नेपालका २० जनाले भाग लिँदैछन् । कार्यक्रम खर्चमध्ये आतेजाते सहभागीको तर्फबाट र यहाँ रहुञ्जेलको अवधिभर खाने र बस्ने सुविधा एकीकृत समाजवादीले जुटाएको हो ।

टिप्पणीहरू