पन्ध्रै मीनेटमा जनार्दनको काम तमाम
राजनीतिक भेटघाटमा सधैँ व्यस्त रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो पनि उस्तै दौडधुपमा रहनुभएको छ ।
जनार्दन शर्माको अर्थ मन्त्रालयमा पुनर्नियुक्ति,निर्वाचन मिति घोषणा सन्दर्भ,पार्टीको आन्तरिक कार्यक्रमलगायतका कारण उहाँ हिजो दिनैभर भेटघाटमा व्यस्त हुनुभएको हो । सोहीक्रममा प्रचण्डले बिहान दश बजे आसपास प्रधानमन्त्री शेरबहादुर देउवासँग संक्षिप्त भेटवार्ता गर्नुभयो । उहाँहरुबीच जनार्दन शर्मालाई दिउँसो मन्त्रीमा फर्काउनेवारे जम्मा १५ मीनेट कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीचको कुराकानीबारे जानकारी दिँदै स्रोतले भनेको छ, ‘सम्भवत: आज बस्ने क्याबिनेट बैठकले चुनावको मिति घोषणा गर्दैछ,त्यसअघि प्रधानमन्त्रीले सत्ता साझेदार दलका प्रमुख नेतासंग आवश्यक परामर्श गर्नुभएको छ ।’
प्रधानमन्त्री भेटेर आफ्नै निवास खुमलटार फर्किनुभएका प्रचण्डले पार्टी नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग झन्डै पौने दुई घण्टा छलफल गर्नुभयो । दुई नेताबीच बिहान सवा ११ देखि १ बजेसम्म कुराकानी भएको बताइन्छ ।
हिजै अर्थमन्त्रीको सपथ खानुअघि अध्यक्षलाई भेट्न जनार्दन शर्मा खुमलटार पुग्नुभएको थियो ।
टिप्पणीहरू