भवनको भ्रष्टाचारवारे अदालतका कर्मचारी नेताहरुको तीतो आक्रोश

भवनको भ्रष्टाचारवारे अदालतका कर्मचारी नेताहरुको तीतो आक्रोश

सर्वोच्च अदालतस्थित राष्ट्रियस्तरका ट्रेड युनियनहरूले देशभरका अदालतहरुको भवन निर्माण ठेक्कामा गडबडीको आशंका गरेका छन् । उनीहरुले सो विषयमा छानबिन गरी दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

तीन वटै ट्रेड युनियनका अध्यक्षले आज प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा मुलुकका विभिन्न अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्ष छानबिनको माग गरिएको छ । ‘सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्षरुपमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै अनियमितता भएको देखिए दोषी उपर कारवाही गर्न माग गर्दछौँ,’ उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल निजामती कर्मचारी युनियनका नरेश कार्की,नेपाल राष्ट्रिय कर्मचारी संगठनका हरि भट्टराई र एकीकृत सरकारी कर्मचारी नेपालका दुर्गादत्त लम्सालले उक्त माग गरेका हुन् । युनियनहरूले सर्वाेच्चको आन्तरिक व्यवस्थापनलाई सौहार्द्रपूर्ण कायम राख्न ध्यानाकर्षण समेत गराएका छन् ।

‘न्यायको मन्दिर निर्माणमा अनियमितता र भ्रष्टाचारको कुरा उठ्दा न्यायकर्मीहरुको शीर निहुरिएको छ,’ उनीहरुले भने । सर्वोच्च प्रशासन र कामु प्रधानन्यायाधीशको सचिवालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अलग पत्राचार गरिएको गम्भीर विषयमा समान धारणा आउनुपर्ने कर्मचारी युनियनहरुको माग छ ।

टिप्पणीहरू