प्रधानमन्त्री दिनभर सिंहदरवारमा ब्यस्त

प्रधानमन्त्री दिनभर सिंहदरवारमा ब्यस्त

प्रतिनिधिसभामा रोकिएर रहेका महत्वपूर्ण विधेयकहरु पारित गरेर चुनावको मिति घोषणा गर्ने चटारोमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा बहुपक्षीय भेटघाटमा व्यस्त हुनुहुन्छ । यसैबीच हिजो उहाँले सत्ता साझेदार दलका नेता,आफ्नै क्याबिनेटका सदस्य, राजदूतलगायतसँग छुट्टाछुट्टै भेटघाट र परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्रीले हिजो बिहानै बालुवाटारमा कानुन मन्त्री गोविन्द बन्दीसँग करिब आधा घण्टा छलफल गर्नुभएको थियो । प्रतिनिधिसभामा रहेका विधेयक र अझ खासगरी संक्रमणकालीन न्यायका विषयमा भैरहेका प्रगतिबारे जानकारी लिन र आवश्यक राय परामर्श गर्न उहाँले बिहान ९ बजे कानुनमन्त्रीलाई बालुवाटार बोलाउनु भएको हो ।

त्यसलगत्तै प्रधानमन्त्री भेट्न फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेन बालुवाटार पुगेका थिए । प्रधानमन्त्री भेट्न साढे ९ को हाराहारीमा बालुवाटार पुगेका राजदूत १० बजेतिर निस्किएका थिए । कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत पेर्टी एन्टिनेन बिदाइ भेटका लागि प्रधानमन्त्री निवास पुगेका हुन् ।

फिनल्याण्डका राजदूतलाई बिदा गरेपछि प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभयो । उहाँहरुबीच संक्रमणकालीन न्यायको विषयसँगै चुनावको मिति घोषणाबारे करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । १० बजेको आसपासमा बालुवाटार छिर्नुभएका प्रचण्ड साढे ११ बजे त्यहाँबाट निस्किनुभएको हो ।

हिजै प्रधानमन्त्रीले सिंहदरबारमा मन्त्री, राज्यमन्त्री र सचिवहरुको संयुक्त बैठकसमेत आयोजना गर्नुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न साढे तीनदेखि साँझ सात बजेसम्म बसेको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेट र कार्यक्रम कार्यान्वयनको अवस्था तथा चालू वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना प्रभावकारी सम्पादन गर्न ‘कार्य सम्पादन करार’ बारे छलफल भएको बताइएको छ ।

एक मन्त्रीका अनुसार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुक चाँडै नै चुनावको चरणमा प्रवेश गर्न लागेकाले त्यसमा ध्यान केन्द्रित गर्दै मुलुकको हितलाई सर्वोपरी राखेर काम गर्न निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू