इम्बोस्ड नम्बर प्लेटमा संविधान मिचिएको बारको ठहर
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले पनि सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेको छ ।
बारका महासचिव अन्जिता खनालले संविधानको मर्म र भावना प्रतिकूल अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु आपत्तिजनक भएको भन्दै उक्त व्यवस्था हटाउन माग गरेकी हुन् । संविधानले नेपाली बाहेक अन्य भाषा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न नहुने प्रष्ट व्यवस्था गरेकाले नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नु गैरसंवैधानिक हुने उनको भनाइ छ ।
आज विज्ञप्ति निकालेर खनालले संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुने भनिएको छ । त्यस्तै, धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने व्यवस्था छ । सोही धाराको उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ,’ भन्ने व्यवस्था छ ।
तसर्थ सवारी तथा यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गर्नु संविधानको धारा ७ को ठाडो उल्लंघन हुने भएकाले जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरि प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि कार्य गर्न नमिल्ने बारको ठहर छ ।
बारले सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोगले नागरिकको भाषासम्बन्धी अधिकारको समेत हनन् हुने स्मरण गराएको छ । ‘नेपाली नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रत्योग गरिनु नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन भएको ठहर सहि साउन १४ गते बसेको कार्यसमिति बैठकले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नागरिकले प्रयोग गरि आएको भाषाको संरक्षण र संवद्र्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा ‘देवनागरी लिपि’ हुनुपर्ने अनिवार्य व्यवस्था गर्न महासचिव खनालले जोडदार माग गरेकी छन् ।
टिप्पणीहरू