चुनावसम्मै सँसद चलिरहने
प्रतिनिधिसभाको चालू अधिवेशन तत्काल स्थगित नहुने भएको छ । आगामी मङ्सिर चार गते एकै चरणमा संघ तथा प्रदेशको निर्वाचन मिति घोषणा भैसकेको सन्दर्भमा अधिवेशन स्थगित हुनसक्ने अनुमानविपरित आज बसेको क्याबिनेट बैठकले संसद सुचारु राख्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले संसद अधिवेशन उम्मेदवारी मनोनयन दर्ता हुने दिनसम्म सुचारु हुने जानकारी दिनुभयो । अब संसद विघटनको अवस्था नरहेकाले प्रतिनिधिसभाको आयु मनोनयनसम्म रहने भएको हो ।
चुनाव घोषणासँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार कामचलाउमा परिणत भएको छ । कामचलाउमा परिणत भएपछि अब सरकारले नियमित दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन महत्वका निर्णयहरु गर्न पाउने छैन ।
आजको क्याबिनेट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण,उर्जामन्त्री पम्फा भुसाल,अर्थमन्त्री जनार्दन शर्मा,सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ,कृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादव, महिला मन्त्री उमा रेग्मी, शिक्षा मन्त्री देवेन्द्र पौडेल,भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ,वन मन्त्री प्रदिप यादव,पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, खेलकुद मन्त्री महेश्वरजंग गहतराज, श्रममन्त्री शेरबहादुर कुँवर,कानुन मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) बन्दी,उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू, भौतिक मन्त्री मोहम्मद इस्तियाक राइन र मुख्य सचिव शंकरदास बैरागी सहभागी थिए ।
टिप्पणीहरू