अल्छि तिघ्रो र स्वादे जीब्रोलाई दनक

अल्छि तिघ्रो र स्वादे जीब्रोलाई दनक

मुलुकमा शारीरिक परिश्रम गर्ने वर्ग न्यून छ । शहर र बजारमा बिचौलियाको भूमिका निभाउने, मीठो मसिनोमा रमाउने,परिश्रम नगर्नेहरुको बाहुल्य हुँदै गएको छ । अहिले मुलुकले नुनदेखि सुनसम्म आयात गर्नुपर्ने बाध्यता त्यसैको परिणाम हो ।

अर्कोतर्फ ग्रामीण क्षेत्रका किसानले गरेको परिश्रमको मूल्य पाउन पनि धौ धौ हुने गरेको छ । दूध, माछामासु र कृषिजन्य उत्पादनमा पनि बिचौलियाको दब्दबा छ । आफ्नो उत्पादनको मूल्य पाउन नसकेपछि सर्वसाधारण र किसानले सडकमा उत्पादन फ्याँकेर विरोध गर्ने गरेका छन् ।

केही समयअघि किसानले दूधको मूल्य नपाएपछि सडकमा पोखेर हिलाम्मे र सेतै बनाइदिएका थिए । गोलभेँडाको मूल्य नपाउँदा पनि त्यसैगरी सडक सिलौटो बन्ने गरेकै हो । यता शहर बजारका उपभोक्ता भने चर्को मूल्यमा ती वस्तु उपभोग गर्न बाध्य छन् ।

यस्तै अवस्था हिजो बनेपामा देखियो । स्थानीय उत्पादन उचित मूल्य नपाएपछि बनेपा तरकारी बजार अगाडि एक किसानले सडकमा मुुला फालिदिए । राजधानीमा उपभोक्ता ४० रुपैयाँ प्रतिकेजीमा खरिद गर्न बाध्य छन् तर उनलाई बिचौलियाले दुई रुपैयाँ प्रति किलो पनि नदिएपछि रिसले मुला फ्याँकेर विरोध गरेका हुन् ।

किसानको यस्तो मर्का कसले बुझिदिने ? मुलुकमा तीन तहका सरकार हुँदा पनि किसानको समस्या समाधान गर्न कसैले पनि अग्रसरता लिएको देखिँदैन । आजका दिनसम्म आन्तरिक उत्पादन र वितरण प्रणाली भगवान भरोसामा चलिरहेको छ । तर, यस्तै विरोध हुँदै जाने हो भने अवस्था भयावह पनि हुनसक्छ ।

टिप्पणीहरू