प्रचण्डलाई भेट्नेहरुको भ्याइनभ्याई
राष्ट्रिय राजनीतिका निर्णायक मोडहरुमा निकै सक्रिय रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिन झन बढी व्यस्त देखिनुभएको छ । वर्तमान सत्ता गठबन्धन बनाउन मुख्य भूमिका खेल्नुभएका उहाँ आमचुनावको तयारीका साथै गठबन्धनको निरन्तरता र समाजवादी केन्द्र निर्माणलगायतका विषयमा नेताहरुसँग हुने छलफल र भेटघाटमा व्यस्त हुनुभएको हो ।
यसैबीच हिजो प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एक घण्टा कुराकानी गर्नुभएको छ । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसलाई सिट भागबण्डामा हावी हुन नदिने तयारीका साथ समाजवादी केन्द्र गठनको चर्चाले महत्व पाइरहेका बेला अध्यक्षद्वयले भेटवार्ता गर्नुभएको हो ।
“हिजै बाबुराम भट्टराईसँगै जसपाबाट निकालिएका महेन्द्रराय यादवले पनि प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।”
हात्तीवन सिटी स्केप अपार्टमेन्टमा रहेको अध्यक्ष प्रचण्डका भानिज गोकुल भण्डारीको निवासमा वाम गठबन्धनको पक्षमा वकालत गर्दै आउनुभएका माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सहित प्रचण्ड र माधवले छलफल गर्नुभएको हो ।
हिजै बाबुराम भट्टराईसँगै जसपाबाट निकालिएका महेन्द्रराय यादवले पनि प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । बिहान आठ बजेतिर खुमलटार पुग्नुभएका यादव पौने घण्टा कुरा गरेर त्यहाँबाट बाहिरिनु भएको बताइन्छ ।
पूर्वमन्त्रीसमेत रहेका यादव निस्केलगत्तै माओवादी केन्द्रका नेताहरु अध्यक्ष भेट्न पुगेका थिए । नेता हरिबोल गजुरेल,वर्षमान पुन, शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल र शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादवले अध्यक्ष प्रचण्डसँग बिहान नौ बजेदेखि करिब एक घण्टा सामूहिक कुराकानी गरेको खुमलटार स्रोतले बताएको छ ।
टिप्पणीहरू