बेलायत बस्ने नेपाली राजदूत बहिष्कारको शिकार

बेलायत बस्ने नेपाली राजदूत बहिष्कारको शिकार

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतभित्र विवादको लहरो तन्किंदै जाँदा राजदूत ज्ञानचन्द्र आचार्य समेत लफडामा मुछिएका छन् । एनआरएनए युकेको हिजो शनिवार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन् ।

कार्यक्रममा सहभागी बेलायतस्थित झण्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन्। विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्व जानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवम् सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूतले कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रुपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन् । कडा शब्दमा आक्रोश पोखिएको वक्तव्यमा भनिएको छ, ‘राजदूत आचार्यलाई समाज भांड्ने,अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।’

“बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूतले कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रुपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन् ।”

यसअघि कार्यक्रमका सम्बन्धमा कार्यसमितिभित्रै विवाद रहेको कुरा बाहिर आएपछि प्रमुख अतिथिको निम्तो स्वीकार गरिसकेका राजदूत आचार्य बीच बाटोबाटै फर्किएका थिए । दूतावासकी प्रवक्ता रोशन खनालले विवादको अवस्थामा तटस्थ बस्नु कर्तव्य ठानेर राजदूत कार्यक्रममा नगएको बताएकी थिइन् । ‘हाम्रो लागि सबै समान हो । तर विवादको अवस्थामा तटस्थ बस्नु कर्तव्य हो ।सबै पक्ष मिलेर आउनुहोस्,हाम्रो साथ, सहयोग सधैं रहनेछ’, उनको भनाइ थियो।

अन्तिम समयमा अनुपस्थित हुँदासमेत उनले इमान्दारीपूर्वक जानकारी नगराएकोप्रति आयोजक थप रुष्ट बनेको थियो । ‘राजदूतले बाटोमा छु,२ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ । त्यसैले हामीले उहाँकै लागि त्यतिञ्जेल पर्खियौं । तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं’, एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भने।

अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाएका थिए। प्रमुख अतिथि बनाइएका राजदूत आचार्यले अन्तिम समयमा धोका दिएपछि एनआरएनए आइसीसी पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा छलफलका क्रममा कतिपय सहभागीले राजदूतको राजीनामा नै माग्नुपर्नेसम्मको आक्रोश पोखेका थिए।

टिप्पणीहरू