सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगको ताकेता
निर्वाचन आयोगले राजनीतिक दलका नेतालाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । आगामी १५ दिनभित्र दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । आयोगमा दर्ता रहेका सबै दलका पदाधिकारी तथा सदस्यको चल अचल सम्पत्ति विवरण पेश गर्न उनीहरुलाई कानुनी व्यवस्थाको जानकारी गराइएको बताइएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा (१) मा दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण दलको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने कानुन व्यवस्था छ ।
त्यस्तै, सम्बन्धित दलको कार्यालयले पेश भएको एक महिनाभित्र ती पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख छ । तर, महाधिवेशन भएको लामो समय बितिसक्दा पनि सम्पत्ति विवरण नबुझाएपछि आयोगले १५ दिनको समय तोकिदिएको हो ।
आयोगमा एक सय १६ वटा राजनीतिक दल कायम छन् । हालसम्म कुनै पनि दलका पदाधिकारी तथा सदस्यले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यस्तै, आजबाट प्रतिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनको निम्ति दल दर्ता आह्वान गरिएको छ ।
टिप्पणीहरू