हुतराजलाई गुप्तचरको एआइजी बनाउन मुख्यसचिवलाई माओवादीको निरन्तर दवाव

हुतराजलाई गुप्तचरको एआइजी बनाउन मुख्यसचिवलाई माओवादीको निरन्तर दवाव

मुश्किलले दुई हजार कर्मचारी रहेको राष्ट्रिय अनुसन्धान विभागमा एआइजी सरहको अतिरिक्त अनुसन्धान निर्देशकको पद दुई वटा बनाएर हुतराज थापालाई जसरी पनि अहिले एआइजी र पछि प्रमुख बनाउन माओवादी केन्द्रको माथिल्लो तहबाट दबाब सिर्जना गरिएको छ । यसअघि विभागमा दुई वटा दरबन्दी आवश्यक नरहेको निश्कर्ष निकालिए पनि माओवादीले हुतराजलाई अहिले अतिरिक्त अनुसन्धान प्रमुख र भदौमा प्रमुख बनाउने रोड म्याप अन्तरगत उक्त दबाब दिएको बताइन्छ ।

एआइजी सरहको उक्त दरबन्दी थप्न ओएण्डएमको आवरणभित्र रचिएको खेल आजै फाइनल गर्न लागिएको छ । हुतराज थापाको निम्ति माओवादीले सोचेको भन्दा बढी प्रेसर दिएको विभागीय स्रोतले बताएको छ । माओवादीले मुख्य सचिवलाई प्रेसर दिएको उनीहरुको बुझाइ छ ।

ओएण्डएम कमिटीको बैठक अहिले बसिरहेको छ । माओवादी र काङ्ग्रेसवीच भागबण्डा मिलाउन नयाँ उपायस्वरुप दरबन्दी थप्न लागिएको हो । ओएण्डएम सर्भे गरेर थपिने अर्को अतिरिक्त अनुसन्धान निर्देशक पदमा दुई जनालाई एकैचोटि उकाल्ने तयारी छ । तर यही सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत कुनै पनि सरकारी निकायमा नयाँ दरबन्दी नथप्ने र भएको दरबन्दीसमेत १० प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ ।

यसबीचका सम्पूर्ण प्रयास ओम जोशी र हुतराज थापालाई बढुवा गर्ने दिशातर्फ केन्द्रित रहेको देखिँदै आएको छ । राजनीतिक भागबण्डाअनुसार नेपाली काँग्रेस र माओवादीले एक एक जना अतिरिक्त अनुसन्धान निर्देशक बनाउने सहमतिमा दरबन्दी थप्न लागिएको हो ।

तर,संख्यात्मक र कार्य क्षेत्रको हिसाबले ३७ हजार दरबन्दीको सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी दुई वटा मात्र भएकोमा अनुसन्धान विभागतर्फ दुई हजार जनशक्तिको निम्ति दुई वटा एआइजीको औचित्य पुष्टि हुन गाह्रो छ । तर,जसरी पनि उक्त कार्य फत्ते गर्न मुख्यसचिवलाई दबाब दिइएको स्रोतको दाबी छ ।

तर बढुवाका दावेदार ओम जोशी, हुतराज थापा, हरिहर पौडेल र सुनिल ढकालको पाँच वर्षे कार्यकाल सकिन एक महिना बाँकी रहेकाले गत १३ गते चारै जनालाई किताबखानाबाट प्राप्त पत्र बुझाइएको थियो । राजनीतिक भागबण्डाअनुरुप ओम र हुतलाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने तर पहिलो नम्बरमा हुतलाई राख्नुपर्ने अडान माओवादीले छाडेको छैन ।

टिप्पणीहरू