चट्याङबाट इन्धन फार्ममा आगलागी – १ को मृत्यु,सयौं घाइते
क्युबाको राजधानी हवानाबाट करीब सय किलोमिटरको दूरीमा माटान्जास बन्दरगाह नजिकै इन्धन भण्डारण केन्द्रमा भएको शृङ्खलाबध्द बिस्फोटपछि भएको आगलागीमा परी कम्तिमा एक जनाको मृत्यु हुनुका साथै १२२ जना घाइते भएको जनस्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । दुर्घटनामा १६ जना बेपत्ता छन् । शुक्रबार स्थानीय समयानुसार ७ बजे चट्याङ लागेर शुरु भएको आगलागी शनिवारसम्म आइपुग्दा अन्य ट्याङ्कीमा समेत फैलिएको थियो, जसले गर्दा शृङ्खलाबद्ध बिस्फोटहरू भएको जनाइएको छ।
अझै फैलिरहेको आगो निभाउन आइतवारदेखि मेक्सिको र भेनेजुएलाका अग्निविज्ञहरूले क्युबाली अग्निनियन्त्रकहरूका साथ काम गरिरहेको बताइएको छ ।
“क्युबामा यस्तो ठूलो किसिमको आगो नियन्त्रण गर्न आवश्यक पर्ने स्रोत,साधन र प्रविधिको अभाव रहेको” क्युबाली राष्ट्रपति मिगुएल डियाज-कानेलले बताउनुभएको छ ।
आधिकारिक तथ्याङ्कअनुसार हालसम्म करिब ५ हजार बासिन्दालाई यस क्षेत्रबाट अन्यत्र सारिएको छ। अहिले इन्धन अभावका कारण बिजुलीको अभावमा परेको यो क्यारिबियन राष्ट्रमा यो घटनापछि विद्युत आपूर्ति झनै बिग्रन सक्ने जनाइएको छ।
श्रोत: सिन्ह्वा
टिप्पणीहरू