मन्त्रीसहितको जम्बो टोली भोलि चीन जाने,४ सचिव र थुप्रै सहसचिव सामेल
परराष्ट्रमन्त्री डा. नारायण खड्का भोलि चीन भ्रमणमा जान लाग्नुभएको छ । उहाँ १३ जनाको टोली लिएर चीनको छिनताओ शहर जाने कार्यक्रम छ । चीन भ्रमण भनिए पनि टोली राजधानी बेइजिङ्ग पुग्ने छैन ।
यता,२ महिना बिदामा बसेर गत हप्ता मात्र नेपाल फर्कनुभएकी चिनियाँ राजदूत हौ यान्छीले आज मन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको छ । उहाँले परराष्ट्र मन्त्रालयमा बिहान सवा १० बजेदेखि झण्डै आधा घण्टा कुराकानी गरी सबै सेड्युलवारे बृफिङ्ग गर्नुभएको हो ।
अमेरिकी अधिकारीहरुको तारन्तारको आगमनपछि अकस्मात मन्त्री खड्काको चीन भ्रमण तय हुनुलाई परराष्ट्र मन्त्रालयले काकतालीको संज्ञा दिएको छ । यसअघि नै जुलाई वा अगष्टको टार्गेट राखेर कुराकानी भइरहेकाले अहिले भ्रमण हुन लागेको मन्त्रालयको दाबी छ ।
हिउँदताका चिनियाँ विदेशमन्त्री वाङ यी पहिले यता आउने कि मन्त्री खड्का उता जान्ने भन्नेमा विचार विमर्श हुँदै गर्दा केही समयअघि वाङ नै नेपाल भ्रमणमा आउनुभएको थियो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ च्यान्छाओले समेत नेपाल भ्रमण गरेपछि यताबाट बल्ल मन्त्रीको भ्रमण तय गरिएको मन्त्रालय स्रोतको दाबी छ ।
नेपाल र चीनका विदेशमन्त्रीहरुको भेटघाटमा कतिपय सहयोग परियोजनाहरुबारे छलफल हुने अनुमान गरिएको छ । तर त्यसबारे नेपाली पक्षले स्पष्ट खाका हालसम्म पाएको छैन ।
जम्बो टोलीमा मन्त्रीसहित चार जना सचिव छन् । परराष्ट्र,गृह,भौतिक योजना र वाणिज्य मन्त्रालयका सचिवसहित अर्थ र परराष्ट्रका सहसचिवहरु पनि टोलीमा सामेल छन् ।
परराष्ट्रमन्त्रीको टोली भोलि बिहान हिमालयन एअरलाइन्सको काठमाडौं–खुनमिङ उडानबाट छिङ्ताओ जाने कार्यक्रम छ ।
यसैबीच चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आज बेइजिङमा ओहोदाको प्रमाणपत्र बुझाउँदै हुनुहुन्छ । उहाँले संक्रमणको अवस्थालाई ध्यानमा राखेर विदेश मन्त्रालयका चिफ अफ प्रोटोकललाई हाम्रा रास्ट्रपतिले दिनुभएको प्रमाणपत्रको कपी बुझाउने कार्यतालिका छ । उहाँ भोलि नै नेपाली प्रतिनिधिमण्डलमा सामेल हुन छिनताओमा एक जना अर्का कर्मचारी लिएर जाने कार्यक्रम छ ।
कोभिड प्रोटोकलअनुसार चीनले झण्डै दुई वर्षदेखि सामान्यतयाः विदेशी पाहुनालाई राजधानी बाहिरै भेट्ने गरेको छ । त्यसैले यस पटक पनि विदेशमन्त्री वाङ यी बेइजिङ बाहिरको छिन्ताओमा आज पुग्दै हुनुहुन्छ । वाङ कम्बोडियाबाट त्यहाँ पुगेर आइसोलेसनमा बस्नेविदेशी पाहुनासँग भेटघाट गर्ने र त्यसपछि फेरि आइसोलेसनमा बसेर राजधानी फर्कने तयारी छ । पछिल्ला दिनमा चीनले कूटनीतिक भेटघाटलाई यसरी नै व्यवस्थापन गर्दै आएको छ ।
नेपालका परराष्ट्रमन्त्रीपछि चिनियाँ विदेशमन्त्रीले दक्षिण कोरियाका विदेशमन्त्रीसँग पनि त्यहिँ भेट्ने कार्यक्रम रहेको बताइन्छ । केही महिनाअघि एमाले तथा माओवादी नेताहरु चीन भ्रमणमाा जाँदा पनि चिनियाँ पक्षले कुनमिङमा भेटेर त्यहीँ कुरा टुङ्ग्याएका थिए ।
गत फेब्रुअरीमा चिनियाँ अधिकारीहरुले बेइजिङमा रुसी राष्ट्रपतिलाई भेटे । हालै पनि पाकिस्तानी विदेशमन्त्रीलाई वाङ यीले छेन्दुमा भेट्नुभएको बताइन्छ ।
टिप्पणीहरू