शीतल निवासमा दिनहुँ भेट्नेको लर्को, नागरिकता विधेयक प्रमाणीकरण नगर्न आग्रह

शीतल निवासमा दिनहुँ भेट्नेको लर्को, नागरिकता विधेयक प्रमाणीकरण नगर्न आग्रह

राष्ट्रपति कार्यालय, शीतल निवासमा राजनीतिक भेटघाटको क्रम पछिल्लो समय बढेको छ । यसअघि तत्कालीन केपी ओली सरकार छँदा पनि शीतल निवासमा भेटघाट निकै बाक्लो हुन्थ्यो । तर, नयाँ सरकार गठनको लामो समयसम्म पातलो भेटघाट हुँदै आएको शीतल निवासमा अहिले भेटघाट गर्नेहरुको लर्को लागेको छ ।

पछिल्ला केही दिनयता राष्ट्रपति कार्यालयमा विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवालगायतको बाक्लो भीड लाग्न थालेको छ । स्रोतका अनुसार संघीय संसदका दुबै सदनबाट पारित नागरिकता विधेयक अनुमोदन नगर्न राष्ट्रपतिलाई अनुरोध गर्नेहरुको शीतल निवासमा एकपछि अर्को प्रवेश भएको बताइन्छ ।

नागरिकता विधेयक रोक्न पहल गर्नेमध्येका अधिकांशले विभिन्न समूहमा दैनिकजसो शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेट्न थालेका हुन् । सोही क्रममा हिजोमात्रै दुइवटा समूह शीतल निवास पुगेको थियो ।

वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, पूर्वअख्तियार आयुक्त सूर्यनाथ उपाध्याय, संविधानविद् डा. सुरेन्द्र भन्डारी, पूर्वप्रशासक डा.द्वारिकानाथ ढुंगेल, प्रदेश प्रदेशका पूर्वप्रमुख डा.राजेश अहिराज, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, अनिल योगीलगायतको टोलीले हिजो दिउँसो राष्ट्रपति भण्डारीसँग भेट गरेको हो । सो क्रममा उनीहरुले नागरिकता विधेयक देशको हितमा नभएको भन्दै प्रमाणीकरण नगर्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हिजै साँझ पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्व परराष्ट्रमन्त्रीहरु प्रदिप ज्ञवाली, डा. प्रकाशशरण महत, रमेशनाथ पाण्डे र डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति भण्डारीलाई सामूहिक भेटवार्ता गरेका थिए । साँझ सात बजे शीतल निवास छिरेका उनीहरु पौने ९ बजे त्यहाँबाट बाहिरिएको बताइन्छ ।

यसैसाता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहितका संसद बाहिर रहेका चार कम्युनिष्ट पार्टीहरुको मोर्चाले पनि नागरिकता विधेयक रोक्न आग्रह गर्दै राष्ट्रपतिलाई पत्र बुझाएको छ ।

टिप्पणीहरू