नागरिकतामा मुलुकलाई हानीनोक्सानी हुने काम नगर्ने राष्ट्रपतिको वचन
पछिल्लो समय नागरिकता विधेयकलाई लिएर राष्ट्रपति निवासमा चहलपहल बढ्दो छ । संघीय संसदका दुवै सदनबाट पारित नागरिकता विधेयक अनुमोदन नगर्न अनुरोध गर्दै शीतल निवास छिर्नेहरुको लर्को लागेको छ ।
हिजो मात्रै नौ जनाको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नागरिकता विधेयक प्रमाणित नगर्न आग्रह गरेको छ । वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, धुव्रहरि अधिकारी,पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय,वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी,ध्रुवलाल श्रेष्ठ,पूर्व सहायक रथी प्रेमसिंह बस्नेत,राजेश अहिराज,अनिल योगी र पूर्व सचिव द्वारिकानाथ ढुङ्गेलले राष्ट्रपति भण्डारीसंग भेटवार्ता गरेका हुन् ।
यो विधेयक राष्ट्रको हितमा नभएको भन्दै टोलीले राष्ट्रपति लाई प्रमाणीकरण नगर्न भनेका छन् । भारतको दबाबमा आएर सत्तारुढ दलहरुले नागरिकता विधेयक ल्याउन खोजको उनीहरुको आरोप छ । यसले मुलुककै सुरक्षा संयन्त्र खतरामा पर्ने सक्ने कुरा स्मरण गराइएको बताइएको छ । विदेशीहरु नेपाली नागरिक हुनुले चुनौती खडा हुनसक्ने उक्त टोलीको ठम्याई छ ।
गठबन्धन जोगाउनका लागि अनुचित कार्य भइरहेको र सांसदहरुले पनि छलकपट गरेको उल्लेख गर्दै उनीहरुले राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन् । नागरिकता विधेयक प्रमाणीकरण गर्नु सबैभन्दा ठूलो बेवकुफी हुन सक्ने भनेर खबरदारी गराउने कार्य समेत भएको छ ।
हतारहतार नागरिकता विधेयक ल्याउनुले शंका पैदा गरेको टोलीको दाबी छ । यता, राष्ट्रपति भण्डारीले आफूले यसविषयमा कानूनविदसंग छलफल गरिरहेको बताएकी छन् । मुलुकलाई हानीनोक्सानी हुने काम नहुनेमा आफू प्रतिबद्ध रहेको उनले जनाइन् ।
टिप्पणीहरू