निजामती कर्मचारी विधेयकको निम्ति मन्त्रीहरुको फेरि मिलन
संघीय निजामती कर्मचारी विधेयकको चर्चा फेरि उठेको छ । हिजो सिंहदरबारमा आधा दर्जन मन्त्रीहरुबीच उक्त विधेयकबारे छलफल भएको छ ।
वर्षौंसम्म राज्य व्यवस्था समितिमा छलफल भएर सदनमा प्रस्तुत गरिएको विधेयक सरकारले फिर्ता लिएपछि अहिले पुनः नयाँ विधेयकबारे कुरा शुरु भएको बताइन्छ ।
छलफलमा कानुन,न्याय तथा संसदीय मामिलमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बन्दी,अर्थमन्त्री जनार्दन शर्मा,भूमिसुधारमन्त्री शशी श्रेष्ठ,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,संस्कृति,पर्यटनमन्त्री जीवनराम श्रेष्ठ,सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठलगायतको उपस्थिति थियो ।
दिउँसो साढे २ बजेबाट शुरु भएको छलफल करिब ४५ मीनेट चलेको थियो । कर्मचारीहरुबीच निकै विवादित उक्त विधेयक पारित गराउने वा नगराउनेबारे मतभिन्नता कायम छ । हिजोको बैठकमा पहिलेको विधेयक संसदीय समितिबाट पारित गराउने क्रममा समिति सभापति रहिसक्नुभएकी मन्त्री शशी श्रेष्ठले पनि भाग लिनुभएको थियो ।
निर्वाचनअघि कर्मचारीहरुबीच विवादित विधेयक जारी गर्दा पर्ने असरबारे सरकारले केही गृहकार्य गरेको बुझिएको छ ।
टिप्पणीहरू