निर्वाचन आयोग असोज ११ गतेदेखि थप व्यस्त हुने

निर्वाचन आयोग असोज ११ गतेदेखि थप व्यस्त हुने

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आगामी असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने, असोज २१ गते कार्यालय स्थापना गर्ने र असोज २३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तालिका तोकेको छ । दर्ता भएका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि मतपत्र छपाई थालिने छ । समानुपातिकतर्फको बन्दसूची पेश गर्ने कार्य तालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

उम्मेदवारको अन्तिम टुंगो लागेपछि असोज २८ गतेबाट जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिने छ ।

आयोगका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसारको निम्ति समय छुट्याइएको छ ।

मंसिर १ गते राति १२ बजेदेखि चुनाव प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

टिप्पणीहरू