काठमाडौंका मेयरको निर्देशन तत्काल कार्यान्वयन हुन नसक्ने नर्भिकको भनाइ
राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशन मान्न सक्ने अवस्था नरहेको जनाएको छ । मेयर साहले हिजोको २४ घण्टाभित्र अस्पतालको संरचना हटाउन दिएको निर्देशन असम्भव रहेको नर्भिकको निश्कर्ष छ ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मेयर साहले भनेझैँ २४ घण्टाभित्र संरचना हटाउन सक्ने स्थिति नरहेको बताए । हिजो मेयरले नर्भिक पुगेर संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएपछि नर्भिकले आज त्यसलाई असम्भव भनेको हो ।
सिंहले अस्पतालले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् । नेपाल सरकारसँग २० वर्षको लिज सम्झौता गरेर संरचना बनाएको उनले बताए । २०६५ सालमा सरकारका तर्फबाट भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग सम्झौता गरेर अस्थायी संरचना निर्माण गरिएको उनको भनाइ छ ।
सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५ को एक रोपनी जग्गा भाडामा लिएर नर्भिकले संरचना निर्माण गरेको बताइएको छ । उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस जस्ता बिरामीका लागि अति आवश्यकीय उपकरणहरु स्टोर गरिएको अस्पतालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
सिंहले भने, ‘मेयर साह आफैँ आएर सूचना टाँसेर गएपछि मैले हिजै उहाँलाई पत्राचार गरेर तत्काल भत्काउन नसकिने जानकारी गराएको छु, तर, हालसम्म पत्रको जवाफ आएको छैन ।’








टिप्पणीहरू