नयाँ बानेश्वरमा १३ महिला, २ पुरुष पक्राउ

नयाँ बानेश्वरमा १३ महिला, २ पुरुष पक्राउ

नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिणतर्फ सुरक्षा घेरा तोड्न खोज्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १३ जना महिला र दुई जना पुरुक्ष रहेको बताइएको छ । उनीहरुलाई एभरेष्ट होटल अगाडिको सडकबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्था केन्द्रीय समितिको आयोजनामा भएको र्यालीका सहभागीमध्ये १५ जना प्रहरी नियन्त्रणमा पुगेका हुन् । उनीहरुमध्ये केहीले ब्यानर, प्लेकार्ड, ह्विलचियर र अपांगमैत्री स्कुटर प्रयोग गरेका थिए ।

सरकारले तर्जुमा गर्न लागेको कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरिएको भन्दै पछिल्लो केही सातादेखि आन्दोलन हुँदै आएको छ । बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सुरक्षाकर्मीतर्फका पीडितहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा घाइते तथा अपांग सुरक्षाकर्मी संघ नेपाल, अमर सशस्त्र प्रहरीसँग आबद्ध संघ नेपाल, सैनिक विरगती परिवार तथा एकल महिला समुह र उपत्यका अमर प्रहरी परिवार संघका सदस्य सहभागी थिए । उनीहरुले अपांग र अशक्त सुरक्षाकर्मीको उपचारको गर्नुपर्ने, द्वन्द्वमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्नुपर्नेलगायत माग राखेका छन् ।

टिप्पणीहरू