प्रचण्डलाई चितवन–३ बाट उठाइने माओवादी निर्णय

प्रचण्डलाई चितवन–३ बाट उठाइने माओवादी निर्णय

नेकपा माओवादी केन्द्र, चितवनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै क्षेत्रबाट निर्वाचन लड्ने निर्णय गरेको छ । हिजो बसेको जिल्ला कमिटी बैठकले चितवन–३ बाट प्रचण्ड उम्मेदवार हुने निर्णय गरेको हो ।

प्रचण्डलाई उम्मेदवार बनाउन गोरखा, सिन्धुली, सिरहालगायत जिल्लाका कार्यकर्ताले पनि पहल गरिरहेको सन्दर्भमा माओवादी चितवनले उक्त निर्णय गरेको हो । आफ्नो उम्मेद्वारीबारे प्रचण्ड स्वयम्ले भने अहिलेसम्म मुख खोल्नुभएको छैन ।

माओवादी शान्ति प्रक्रियामा आएयताका तीनवटा निर्वाचनमा उहाँले फरक–फरक क्षेत्रबाट चुनाव लड्नुभएको छ । २०७४ सालको निर्वाचनमा चितवन–३ बाट धेरै मतान्तरले विजयी हुनुभएका प्रचण्ड त्यसअघि २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौँ–१० र सिराहा–५ बाट उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ सिराहा–५ बाट मात्रै विजयी हुनुभयो ।

त्यसअघि २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने उहाँ काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो ।

टिप्पणीहरू