शीतल निवास छिर्नेको लर्को हिजो पनि उस्तै

शीतल निवास छिर्नेको लर्को हिजो पनि उस्तै

संसदबाट नागरिकता विधेयक पारित भएर प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय शीतल निवास पठाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक भेटघाट गर्ने संख्या दिनहुँ बढेको छ । संघीय संसदका दुवै सदनबाट पारित नागरिकता विधेयक रोक्न विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिनहुँ भेटिरहेका छन् ।

सोही क्रममा हिजो पनि एउटा समूह शीतल निवास पुगेको थियो । ठकुरी समाजका उपाध्यक्ष रुद्रराज सिंह, सचिव मोहनबहादुर चन्द, समाजका काठमाडौं जिल्ला अध्यक्ष वासना खाँणसहितको टोलीले राष्ट्रपति भण्डारीलाई भेटेको हो । अपरान्ह ३ बजेबाट ४ बजेसम्म भएको भेटमा उनीहरुले विधेयक अस्वीकृत गर्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

त्यसैगरी अस्ति वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, पूर्वअख्तियार आयुक्त सूर्यनाथ उपाध्याय, संविधानविद् डा.सुरेन्द्र भण्डारी, पूर्वप्रशाशक डा.द्वारिकानाथ ढुंगेल, पूर्व मधेस प्रदेश प्रमुख डा. राजेश अहिराज, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, पत्रकार अनिल योगीलगायतको टोलीले राष्ट्रपति भण्डारीसँग भेट गरेको थियो । सो क्रममा उनीहरुले नागरिकता विधेयक देशको हितमा नभएको भन्दै प्रमाणीकरण नगर्नका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यस्तै, अस्ति साँझ पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वपरराष्ट्रमन्त्रीहरु प्रदीप ज्ञवाली, डा. प्रकाशशरण महत, रमेशनाथ पाण्डे र डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति भण्डारीलाई सामूहिक भेटवार्ता गरेका थिए । साँझ ७ बजे शीतल निवास छिरेका उनीहरु पौने ९ बजे त्यहाँबाट बाहिरिएको बताइन्छ ।

यसैसाता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहितका संसद बाहिर रहेका चार कम्युनिष्ट पार्टीहरुको मोर्चाले पनि नागरिकता विधेयक रोक्न आग्रह गर्दै राष्ट्रपतिलाई पत्र बुझाएको थियो ।

टिप्पणीहरू