चुनावी चटारोले प्रधानमन्त्रीलाई भ्याईनभ्याई
निर्वाचनको मिति घोषणासँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक भेटघाटमा निकै व्यस्त हुनुभएको छ । सरकार सञ्चालनको नियमित कामसँगै चुनावी तयारीसमेत गर्नुपर्ने भएकाले भेटघाट बढेको हो ।
त्यसका साथै गठबन्धनमा सिट भागबण्डाको सकस र त्यसैलाई लिएर पार्टीभित्रको असन्तुष्ट पक्षलाई मनाउनुपर्ने बाध्यताले पनि प्रधानमन्त्री देउवा समयको चापमा पर्नुभएको छ ।
निर्वाचन घोषणा भएको भोलिपल्टै देउवाको अध्यक्षतामा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पाँच दलीय गठबन्धन कायम राखेर चुनावमा जाने निर्णय गरिसकेको छ भने त्यसबारे अध्ययन गर्न कार्यदलसमेत गठन भएको छ । देशभर पार्टीहरुको अवस्थाको मूल्याङ्कनसहित सिट भागबण्डाको मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको ११ सदस्यीय कार्यदलको हिजो पहिलो बैठक पनि बसिसकेको छ ।
हिजो साँझ कार्यदलको बैठक बस्नुअघि काँग्रेस सभापतिसमेत रहनुभएका देउवाले बालुवाटारमै पार्टीका शीर्ष नेताहरुसँग राय परामर्श लिनुभएको थियो । पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित सो बैठकमा कार्यदलमा पार्टीका तर्फबाट राख्ने अडानबारे उहाँले सुझाव माग्नुभएको बताइएको छ । बैठकले ६० प्रतिशत सिट काँग्रेसले राखेर ४० प्रतिशत गठबन्धनका अन्य दललाई छाड्ने बटमलाइनसहित कार्यदलमा प्रस्तुत हुने निर्णय गरेको काँग्रेस नेताहरुले बताएका छन् ।
बैठकमा सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, महामन्त्री तथा कार्यदलका सदस्य गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीसहित १५ जनाको उपस्थिति रहेको थियो । बिहान साढे १० बजे शुरु भएको बैठक दिउँसो २ बजेसम्म चलेको थियो ।
त्यसअघि देउवाले नेता प्रकाशमान सिंहसहितका नेताहरुलाई पनि सहभागी गराएर पदाधिकारी बैठक राख्नुभएको थियो । बिहान पौने ९ देखि साढे नौ बजेसम्म छलफल गरेपछि लगत्तै पूर्वपदाधिकारीसहितको बृहत बैठक बसेको हो ।
त्यहिबीचमा साढे ११ देखि एक घण्टा प्रधानमन्त्री देउवाले नेता सिंहसहित काठमाडौं विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख तथा प्राध्यापक डा. विराजसिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामा र वातावरण इन्जिनियर लक्ष्मण लामासँग छलफल गर्नुभएको बताइन्छ ।
टिप्पणीहरू