निर्वाचनअघि सयौं गाडी किन्नुपर्ने नेपाल प्रहरीको प्रस्ताव
आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको निम्ति नेपाल प्रहरीले ७ सय ५१ वटा गाडी खरिदको प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि हलुका तथा ठूला सवारीसाधन पर्याप्त नरहेको बताउँदै प्रहरीले ठूलो संख्यामा गाडी खरिदको प्रस्ताव राखेको हो ।
प्रस्तावअनुसार बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको बताइएको छ । गत स्थानीय तहको निर्वाचनअघि पनि प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको थियो । त्यतिबेला सवारीसाधन खरिदका लागि बजेट माग गरे पनि सरकारले भाडामा सवारीसाधन ल्याउन बजेट छुट्टाएको थियो ।
प्रहरी प्रधान कार्यालयले गृहमा बुझाएको विवरणअनुसार अहिले प्रहरीलाई एक हजार पाँच सय ९८ मोटरसाइकलको अभाव छ । साना सवारीसाधन एक हजार तीन सय ८४ अपुग रहेको बताइन्छ ।
सात सय ५३ स्थानीय तहमा रहेका प्रहरीसँग एक हजार पाँच सय २९ साना र एक सय ५४ ठूला सवारीसाधन रहेको विवरण देखाइएको छ ।
टिप्पणीहरू