आगामी चुनावमा गठबन्धन नगर्ने एमाले महासचिवको दाबी
एमाले महासचिव शंकर पोखरेलले आगामी संघीय र प्रदेशको चुनावमा गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ । आज निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।
आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने उहाँको आरोप छ । निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसके सरकार बनाउन गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा रहेको महासचिव पोखरेलको भनाइ छ । सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न तयार हुने गरेको आरोप पोखरेलको छ ।
पोखरेलले भन्नुभयो, ‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ । तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो ।’
उहाँले भन्नुभयो, ‘एमाले आफ्नो नीति छाडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा छैन ।’
टिप्पणीहरू