प्रधानमन्त्री देउवाले जनप्रतिनिधिलाई तालिम दिने

प्रधानमन्त्री देउवाले जनप्रतिनिधिलाई तालिम दिने

सत्तारुढ नेपाली काँग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दुई दिवसीय अभिमुखीकरण तालिम आयोजना गरेको छ ।

काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ३० र ३१ गते ललितपुरमा हुने अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा मुख्य प्रशिक्षक रहनुभएको छ । काँग्रेसले प्रशिक्षणका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समिति (जिसस)का प्रमुख र उपप्रमुखलाई आमन्त्रण गरेको छ ।‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागी हुन चाहने जनप्रतिनिधिले २९ साउन बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा नाम दर्ता गर्नसमेत आग्रह गरिएको छ ।

कांग्रेसको सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

टिप्पणीहरू