गठबन्धनमा सहभागी हुन निम्ता आएको छ, छिट्टै निर्णय गर्छौँ : राजेन्द्र महतो

गठबन्धनमा सहभागी हुन निम्ता आएको छ, छिट्टै निर्णय गर्छौँ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले गठबन्धनको तर्फबाट सरकार र गठबन्धनमा सहभागी हुन आमन्त्रण भइरहेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसबारे केही दिनमा निर्णयमा पुग्ने जानकारी दिए ।

‘हामी चुनावको तयारीमा लागिसकेका छौँ । सरकारमा र गठबन्धनको सवाल पनि उठिरहेको छ । तर, अहिले पाँच दलीय जुन गठबन्धन हो, त्यो गठबन्धनको तर्फबाट हामीलाई आमन्त्रण गरिएको छ, हामी चाँडै नै यो विषयमा टुङ्गोमा पुग्नेछौँ,’ महतोले भने ।

उनले उपेन्द्र यादव अध्यक्ष रहेको जसपासँग एउटै सरकारमा बसेर काम गर्न आफूहरूलाई कुनै अप्ठेरो नहुनेसमेत प्रष्ट पारे । संसदबाट नागरिकता विधेयक पारित भएसँगै गठबन्धन सरकारप्रति सकारात्मक रहेको लोसपा गठबन्धनमा आवद्ध हुने उपयुक्त मौकाको खोजीमा देखिन्छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरुले हालै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग यसबारे छलफल गरिसकेका छन् ।

आगामी चुनावपछि लोसपालाई साथ् लिएर सरकार बनाउन सकिने आकलन गरेका काँग्रेस नेताहरु पनि उसलाई सरकार र गठबन्धनमा भित्र्याउन आतुर छन् । तर, गठबन्धनका अन्य दल र अझ जसपा अध्यक्ष उपेन्द्र यादव तयार नहुँदा काँग्रेस र लोसपाको चाहानाले मूर्तता पाउन सकेको छैन ।

टिप्पणीहरू